Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद्पछिको पुनःनिर्माणमा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस)

गण्डकी, २ मङ्सिर : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस वर्ष देशका विभिन्न ठाउँमा निम्तिएको प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा तीनै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभएको छ । 

    राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफल तथा अन्तरक्रियामा उहाँले विपद्का बेला सङ्घ, प्रदेश सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा राहत तथा उद्धार कार्यमा असहजता सिर्जना हुने गरेको बताउनुभयो । 

    मुख्यमन्त्री पाण्डेले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी नदीमा यस वर्ष आएको बाढीले गण्डकी प्रदेशमा पुर्‍याएको क्षतिको पुनःनिर्माणमा प्रदेश सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै उहाँले सङ्घ सरकारले तीनवटै विपद्ग्रस्त क्षेत्रमा एउटै प्याकेजमा पुनःनिर्माण थाल्नुपर्ने बताउनुभयो । 

    “प्रधानमन्त्री र गृहमन्त्रीसँगको भेटमा पनि प्रदेश सरकारले गर्नसक्ने पुनःनिर्माणका कामबारे जानकारी गराएका छौँ, यी यी काम सङ्घ सरकारले नै गर्नुपर्छ पनि भनेका छौँ”, उहाँले भन्नुभयो । प्रदेशको कार्यक्षेत्रभित्र पर्ने भौतिक संरचनाको पुनःनिर्माणका लागि पनि सङ्घ सरकारको सहयोग चाहिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । 

    कालीगण्डकी र बुढीगण्डकीमा आएको बाढीले प्रभावित नागरिकको उद्धार तथा राहतमा कुनै कमी हुन नदिन प्रदेश सरकार लागिपरेको उहाँले बताउनुभयो । हरेक जिल्लामा १० लाख रूपैयाँभन्दा नघट्ने गरी र प्रदेशस्तरमा दस करोड रूपैयाँमा नघट्ने गरी राहत तथा उद्धार कोष स्थापना गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । सोही कोषबाट बाढीपहिरो प्रभावितको राहत तथा उद्धारमा यस वर्ष झण्डै रु. तीन करोड खर्च भएको उहाँले बताउनुभयो । 

    कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्रदेशमा यस वर्ष भएको विपद्का घटना, क्षतिको विवरण तथा सङ्घ सरकारसँगका अपेक्षाका विषयमा प्रस्तुतिकरण राख्नुभएको थियो । 

    उहाँका अनुसार यस वर्ष बाढीपहिरो, डुबान आदि विपद्जन्य घटनाबाट प्रदेशका सात जिल्लाका २० वटा स्थानीय तह प्रभावित भएको जानकारी दिनुभयो । विपद्का कारण ३६ जनाको मृत्यु, तीन जना बेपत्ता हुनुका साथै ७३६ निजी घरमा क्षति पुगेको उहाँले बताउनुभयो । यस्तै सडक, पुल, भवनलगायत गरी अर्बौँको सार्वजनिक संरचनामा क्षति पुगेको प्रदेश सचिव चिलुवालले उल्लेख गर्नुभयो । बाढीपहिराका कारण सयौँ घरपरिवार विस्थापित भएको उहाँको भनाइ छ । 

    विपद्पछिको उद्धार कार्यमा प्रदेश सरकारलाई सुरक्षा संयन्त्र परिचालन गर्ने कानुनी व्यवस्था नहुँदा र राहत वितरणमा प्रदेशको छुट्टै संरचना नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो । भोटेकोशी बाढी सरह कालीगण्डकी र बुढीगण्डकी बाढीमा पनि राहत तथा पुनःनिर्माण प्याकेज ल्याउन प्रदेश सरकारले माग गरेको उहाँको भनाइ छ । 

    राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले गण्डकी प्रदेशका विपद्ग्रस्त क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरी सरकारलाई प्रतिवेदन बुझाइने बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan