Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस)

गण्डकी, २ मङ्सिर : पुराना र खेर फालिएका कपडाबाट बनेका पहिरनमा सजिएर जब युवायुवती बिरालो चाल ‘क्याटवाक’को शैलीमा मञ्चमा प्रस्तुत हुन्थे तब दर्शकदीर्घाबाट परर ताली बज्थ्यो । सङ्गीत, मञ्च र बत्तीको संयोजनले उक्त दृश्यलाई झनै आकर्षक तुल्याएको थियो । पोखरामा आजदेखि सुरु भएको ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ सत्रमा देखाइएको ‘अपसाइकल फेसन शो’ले धेरैको ध्यान खिच्यो ।  

    विद्यार्थीदेखि मुख्यमन्त्रीसम्मले रुचीपूर्वक उक्त फेसन शोलाई अवलोकन गरे । प्रयोग भइसकेका कपडा र अन्य सामग्रीको पुनःप्रयोग गरि तयार पारिएका पोसाक, झोलालगायत सामग्री प्रदर्शनका लागि अपसाइकल फेसन शो आयोजना गरिएको हो । पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइकिलिङ र अपसाइकिलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत सुरु भएको ‘आरयू फेस्ट–२०२६’ बिहीबारसम्म चल्नेछ । 

    ’फोहरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको उक्त मेलामा फेसन शो, नाटक मञ्चन, ‘आरयू’ उद्यमका उत्पादनको प्रर्दशनी तथा बिक्री, ‘आरयू खजना’ दौड, अन्तरक्रियात्मक खेल, कला प्रस्तुति, प्रयोगात्मक कार्यशालालगायत सिर्जनात्मक गतिविधि सञ्चालन भइरहेको छ । 

    मेलाको उद्घाटनपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फोहरलाई केबल बिर्सजन गर्नुपर्ने वस्तुका रुपमा हेर्ने परम्परागत सोच ‘आरयू फेस्ट’ले परिवर्तन गरेको बताउनुभयो । “फोहरलाई समस्याका रुपमा नहेरी त्यसमा रहेका आर्थिक, सामाजिक र वातावरणीय सम्भावनाहरुको पहिचान गर्दै पुनःप्रयोग र पुनःप्रशोधनमार्फत नयाँ उत्पादन, रोजगारी सिजर्ना, उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित परियोजनाको अभिन्न अङ्ग यो मेला पनि हो”, उहाँले भन्नुभयो । 

    विश्वले सामना गरिरहेको प्रमुख वातावरणीय चुनौतीमध्ये फोहर व्यवस्थापन पनि एउटा रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक स्रोतको संरक्षण, स्थानीय उद्यमशीलताको विकास र  रोजगारी सिर्जनाका लागि फोहरको पुनःप्रयोग तथा पुनःप्रशोधन गरी फोहरलाई मोहरमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । तीव्र सहरीकरण, औद्योगीकरण, जनसंख्या वृद्धि, पर्यटन गतिविधि, बढ्दो उपभोगसँगै फोहर उत्पादनको मात्रा पनि बढीरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्यले ‘आरयू फेस्ट’को आयोजना गरिएको बताउनुभयो । यस मेलाबाट फोहरलाई रिसाइकिलिङ र अपसाइकिलिङ गर्ने उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबीच सम्बन्ध र सहकार्य विस्तार हुने उहाँको भनाइ छ । 

    ‘आरयू फेस्ट’लाई संस्थागत गरी नियमितता दिइने उहाँले बताउनुभयो । “फोहरलाई हेर्ने सोच र दृष्टिकोणलाई बदल्दै यसको पुनःप्रयोग र पुनःप्रशोधनमार्फत नयाँ उत्पादन, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र निर्माणको उद्देश्य लिइएको छ”, महानगर प्रमुख आचार्यले भन्नुभयो । 

    कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका कन्ट्री डाइरेक्टर मूहेओन कोङले फोहरको दिगो व्यवस्थापनसँगै जिविकोपार्जनमा सुधार, स्थानीय उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र वातावरणीय संरक्षणका लागि परियोजना फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले परियोजनमार्फत विद्यार्थी र युवा पुस्तालाई नवप्रवर्तन र प्रविधिसँग जोड्ने प्रयास गरिएको बताउनुभयो । 

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवसीय क्योको योको सुकाले हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र निर्माणमा परियोजनाले सहयोग पु¥याउने बताउनुभयो । फोहरप्रतिको परम्परागत सोचलाई बदल्न ‘आरयू फेस्ट’ महत्वपूर्ण रहेको उहाँको भनाइ छ । 

    दोस्रो संस्करणको ‘आरयू फेस्ट’मा रिसाइकिलिङ र अपसाइकिलिङसँग सम्बन्धित उद्यमका ४२ वटा बिक्री तथा प्रदर्शनीकक्ष रहेको परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले बताउनुभयो । फोहरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई पुनःप्रयोग र प्रशोधनमार्फत आर्थिक तथा वातावरणीय मूल्य सिर्जना गर्न सकिने स्रोतका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । 

    मेलामा ‘आरयू’ उद्यमका उत्पादन तथा नवीन अभ्यासको प्रदर्शनी, दिगो फोहोर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रमसमेत भइरहेको उहाँले बताउनुभयो । मेलामा विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसरसमेत प्रदान गरिएको उहाँको भनाइ छ । 

    मेलाको पहिलो दिन पोखरा थिएटरको प्रस्तुतिमा ‘आरयू’ नाटक मञ्चन र बालबालिकामा फोहर व्यवस्थापन, पुनःप्रयोग र वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको कथापुस्तक पनि विचोचन गरिएको थियो । पोखरामा ग्रीन भेन्चर जोन (जीभीजेड)को अवधारणालाई प्रवद्र्धन गर्दै ‘आरयू’ उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको महानगरले जनाएको छ । 

    कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा पोखरा महानगरपालिकाले ‘रिसाइकिलिङ र अपसाइकिलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालन गरिरहेको छ । परियोजनमार्फत प्रयोग गर्ने र फाल्ने अभ्यासको सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइकिलिङ तथा अपसाइकिलिङ उद्यम स्थापनामा जोड दिइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan