भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति
काठमाडौँ, १ मङ्सिरः भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले आज पत्रकार थामीकी धर्मपत्नी एवं राससका समाचारदाता कालिका खड्कालाई सो कुराको जानकारी दिनुभएको हो । उहाँकी छोरी कृतिका हाल नौ कक्षामा अध्ययनरत हुनुहुन्छ ।
राजदूत खानले कृतिकालाई माध्यमिक विद्यालयसम्मको छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुभएको हो । राजदूत खानले कृतिकाको पठनपाठनमा सघाउ पुगोस् भनेर दूताबासका तर्फबाट सहयोगस्वरुप एक थान ल्यापटप पनि प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा राजदूत खानले भोटेकोशी बाढीले पु्र्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै एक मित्र राष्ट्रका हैसियतले पाकिस्तान सरकारका तर्फबाट दूताबासले पत्रकार थामीको परिवारलाई सो सहयोग गरेको बताउनुभयो ।
त्यस अवसरमा पत्रकार खड्काले छोरीको पठनपाठनका लागि सो सहयोग उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


