Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

मोरङ, १ मङ्सिरः जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आउनुभएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला व्यस्त छ ।

राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्नुहुन्छ । बाइस वर्षअघि प्रतिगोटा रु एकमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर रु १० पुगेको उहाँले बताउनुभयो । चामल, दाउरा तथा अन्य सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार दैनिक करिब पाँच केजी चामलबाट तयार गरिएको भक्का बिक्री हुने गरेको छ । एक केजी चामलको पिठोबाट करिब २० वटा भक्का तयार हुन्छन् । जाडोयाममा बिहानको खाजाका रूपमा तातो भक्का रुचाउने ग्राहक धेरै हुने भएकाले दैनिक उत्पादन सहजै बिक्री हुने उहाँले बताउनुभयो ।

राजवंशी समुदायको मौलिक परिकारका रूपमा चिनिने भक्का पछिल्लो समय पूर्वी तराईका चोक तथा बजारमा लोकप्रिय खाजा बनेको छ । चामलको पिठोलाई बाफमा पकाएर तयार गरिने यो परिकार स्थानीय तथा यात्रुको रोजाइमा पर्ने गरेको छ ।
    
नेपालको पूर्वी तराई तथा भित्री मधेसमा बसोबास गर्ने राजवंशी, थारू र मेचेलगायत आदिवासी समुदायको मौलिक परिकार भक्का अहिले सबै जातजाति र वर्गका मानिसको साझा खाजा बनेको छ ।

पहिले घरमा मात्र बनाइने यो परिकार पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुँदै सडकका ठेलादेखि साना होटलसम्म बिक्री हुन थालेको छ ।

विशेषगरी झापा, मोरङ र सुनसरीका चोक तथा बजारमा जाडोयाम लक्षित भक्का व्यवसाय सञ्चालन गर्ने परिवारको सङ्ख्या बढेको छ ।

चामल भिजाएर सुकाएपछि ओखल वा मिलमा पिँधेर तयार पारिएको मोटो पिठोलाई माटोको सानो हाँडीमा राखी बाफमा पकाएर भक्का बनाइन्छ । कपडाले छोपेर केही मिनेट बाफमा पकाएपछि तयार हुने भक्का नरम र सेतो हुन्छ ।
    
लक्ष्मीमार्गका स्थानीय स्वास्थ्यकर्मी नवराज ढकालका अनुसार भक्कालाई तातोपानी, घिउ, खुर्सानीको अचार तथा नरिवल वा तिलको धुलोसँग खाँदा स्वादिलो हुन्छ ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिसमेत रहनुभएका नवराज बस्नेतका अनुसार जाडो बढेसँगै भक्का बिक्रीबाट दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यसले न्यून आय भएका परिवारलाई हिउँदमा आर्थिक सहारा दिएको छ ।

विशेषगरी महिलाहरू यस व्यवसायमा आकर्षित भएका छन् । घरायसी कामसँगै केही घण्टा भक्का बनाएर बिक्री गर्दा आम्दानी हुन थालेपछि स्थानीय गृहिणीहरूको यस पेसाप्रति आकर्षण बढेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan