पाथीभरा देवी अक्षय कोषबाट शैक्षिक सामग्री वितरण
ताप्लेजुङ, १ मङ्सिर ः पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
समितिले फुङ्लिङ नगरपालिका–३ स्थित मेदिबुङ आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकास्थित पाटी आधारभूत विद्यालयलाई रु ३०÷३० हजार बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । पाथीभरा क्षेत्र विकास समितिद्वारा स्थापना गरिएको रु एक करोड बराबरको पाथीभरा देवी अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत शैक्षिक सामग्री खरिद गरी वितरण गरिएको हो ।
मङ्गलबार समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले मेदिबुङ आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद गिरी र पाटी आधारभूत विद्यालयका प्रधानाध्यापक दिलबहादुर पालुङ्वालाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । समितिले केही दिनअघि नेत्रहीन सङ्घ ताप्लेजुङलाई ल्यापटप प्रदान गर्नुका साथै फुङ्लिङ नगरपालिका–४ स्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिका बस्ने आवास मर्मतका लागि रु ६० हजारसमेत सहयोग गरेको थियो ।
शैक्षिक क्षेत्र लगायतमा विभिन्न क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले समितिले अक्षय कोषको ब्याजबाट प्राप्त रकम सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च गर्दै आएको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो ।


