Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुष्प व्यवसायमा आकर्षित हुँदै युवा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस)

डडेल्धुरा, २४ कात्तिकः जिल्लाका युवा व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा संलग्न भएका हुन् । पुष्पखेतीले स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पु¥याएको छ ।

    जिल्लाको अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि पुष्प व्यवसाय सुरु गर्नुभएको हो । कृषि प्राविधिक शिक्षा अध्ययन गरेका उहाँले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचका साथ सयपत्री फूलखेती थाल्नुभयो । सुरुका दिनमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपर्ने अवस्था रहेको पाठक अहिले घरमै फूल खरिद गर्न ग्राहक आउने गरेको बताउनुहुन्छ ।

    उहाँले स्थानीय जातका सयपत्रीसहित ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आउनु भएको छ । कृषि ज्ञान केन्द्रबाट टनेल तथा गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएका उहाँले दसैँ र तिहारको समयमा डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आउनुभएको छ । उत्पादित फूलको माला प्रतिगोटा रु १०० देखि रु २०० र फूल प्रतिकेजी रु ४०० देखि ५०० सम्म बिक्री हुने गरेको उहाँको भनाइ छ । उहाँले एक सिजनमा रु एक लाखसम्म आमदानि हुनेगरेको बताउनुभयो ।

    यस्तै, अमरगढी नगरपालिका–१ डोलाका सुरत ऐर पनि पाँच वर्षदेखि पुष्प व्यवसायमा संलग्न हुनुहुन्छ । कृषि विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका उहाँले करिब डेढ रोपनी जमिनमा सयपत्री फूल खेती गर्नु भएको छ । विदेश जानुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको बताउने ऐरका लागि अहिले पुष्पखेती परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ । उहाँ स्थानीय उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुहुन्छ ।

    पर्शुराम नगरपालिका–४ कटालका चक्रसिंह मालले पनि चार वर्षअघि तीन रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गर्नुभएको हो । उहाँले ‘कर्मा ५५५’ जातको फूल उत्पादन गरी अहिले दसैँ, तिहार र छठ पर्वका समयमा डडेल्धुरादेखि धनगढीसम्म बिक्री गर्दै आउनुभएको छ ।

    यद्यपि, पुष्प व्यवसायमा लागेका किसानले बीउ, सिँचाइ र बजार व्यवस्थापनमा समस्या भोग्नुपरेको बताएका छन् । विशेषगरी बजारमा भित्रिने प्लास्टिकका कृत्रिम मालाका कारण स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको उहाँहरूको गुनासो छ । पुष्पखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न स्थानीय सरकारले पर्याप्त प्राथमिकता र प्रोत्साहन दिन नसकेको उनीहरूको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र डडेल्धुराले भने पुष्पखेतीलाई प्रोत्साहन गर्न बिउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । किसानले स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग गर्न सके पुष्प व्यवसायबाट युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan