Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनए र सरकारबीच सहकार्यबारे छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |
newsabhiyan

काठमाडौं, ५ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारका सम्बन्धित निकायबीच हालैको विपद्पछिको राहत, पुनर्स्थापना, पुनःस्थापना तथा पुनर्निर्माणका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

छलफलका क्रममा प्रभावित परिवार तथा समुदायको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित पुनर्निर्माण तथा जीविकोपार्जनका क्षेत्रमा एनआरएनएसँग सहकार्य गर्न सकिने सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो।

छलफलमा एनआरएनएका तर्फबाट विपद्पछिको पुनर्निर्माणलाई तत्कालीन पुनर्निर्माणमा मात्र सीमित नराखी भविष्यमा हुनसक्ने बहु–विपद् (Multi-hazard) को जोखिमलाई समेत मध्यनजर गर्दै सुरक्षित, व्यवस्थित र दिगो विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

एनआरएनएले हाल राहत तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी गराउँदै आगामी पुनर्स्थापना तथा पुनर्निर्माणको चरणमा पनि सरकारसँग हातेमालो गर्दै ठोस कार्ययोजनाका साथ अघि बढ्न चाहेको स्पष्ट पारेको थियो। विपद् जोखिमको दीर्घकालीन समाधानका लागि राज्यका निकाय तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य अपरिहार्य रहेकोसमेत एनआरएनएका तर्फबाट उल्लेख गरिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले एनआरएनए र सरकारका सम्बन्धित निकायबीच समझदारीपत्र (MoU) गरी सहकार्य अघि बढाउँदा कार्यक्रम सञ्चालन तथा स्रोत परिचालनमा थप सहजता हुने बताउनुभयो।

छलफलमा विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायको सुरक्षा, पुनर्स्थापना र दीर्घकालीन भविष्य सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

पुनर्निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराखी  सुरक्षित बस्ती निर्माण, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी तथा दिगो जीवनयापनलाई समेत समेटेर अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी, विभिन्न निकाय तथा संघसंस्थाबाट हुने सहयोगमा दोहोरोपन कम गर्दै नेपाल सरकारको नेतृत्वमा समन्वित, पारदर्शी र एकीकृत प्रणालीमार्फत स्रोत परिचालन गर्ने, वास्तविक आवश्यकता पहिचानका आधारमा सहयोग पुर्‍याउने तथा पुनर्निर्माणलाई दीर्घकालीन विपद् उत्थानशीलतासँग जोड्ने विषयमा समेत छलफल भएको थियो।

सूचना तथा सञ्चार मन्त्रीसँग छलफल
आजै सूचना तथा सञ्चार मन्त्री माननीय डा. विक्रम तिमिल्सिनासँग भएको छलफलमा विपद्का समयमा प्रमाणित तथा विश्वसनीय सूचना प्रवाह, प्रभावकारी सञ्चार, पारदर्शिता तथा गलत सूचना न्यूनीकरणको आवश्यकताबारे छलफल भएको थियो।

साथै, विश्वभर रहेका नेपाली समुदायसँग उपलब्ध ज्ञान, प्रविधि तथा व्यावसायिक विशेषज्ञतालाई नेपालको विपद् पूर्वतयारी, पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गर्ने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।

छलफलमा नेपाल सरकारका प्राथमिकता तथा विद्यमान संयन्त्रसँग समन्वय गर्दै विश्वभर फैलिएको नेपाली डायस्पोराको स्रोत, ज्ञान, प्रविधि र विशेषज्ञतालाई नेपालको पुनर्स्थापना तथा पुनर्निर्माणमा प्रभावकारी रूपमा जोड्न एनआरएनए प्रतिबद्ध रहेको धारणा राखिएको थियो।

विपद्पछिको पुनर्निर्माणलाई तत्कालीन राहतमा मात्र सीमित नराखी सुरक्षित, दिगो तथा विपद् उत्थानशील समुदाय निर्माण गर्ने दीर्घकालीन प्रक्रियाका रूपमा अघि बढाउनुपर्नेमा समेत जोड दिइएको थियो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सहकार्यबारे छलफल
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय सीता बादीसँगको छलफलका क्रममा एनआरएनएका तर्फबाट प्रभावित परिवार तथा समुदायका लागि गर्न सकिने सहयोग र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको थियो।

मन्त्रालयका तर्फबाट एनआरएनएको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै सम्बन्धित शाखा तथा सरोकारवाला निकायसँग आवश्यक छलफल गरी सहकार्यका क्षेत्र पहिचान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

छलफलमा प्रभावित परिवारलाई क्लस्टरगत रूपमा पहिचान गरी उनीहरूको आवश्यकता र अवस्थाका आधारमा लक्षित सहयोगका कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा जोड दिइएको थियो।  मन्त्रालयका तर्फबाट एनआरएनएले गर्न सक्ने सहयोगका क्षेत्र स्पष्ट रूपमा प्रस्तुत गर्न आग्रह गरिएको थियो।

विपद्बाट प्रभावित महिला, बालबालिका तथा परिवारका सदस्यहरूको सामाजिक, आर्थिक तथा मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। यस क्रममा प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रम तथा परियोजना सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि छलफल  भएको थियो।

छलफलमा आगामी प्रथम महिला सम्मेलन,  महिलाको नागरिकताको विषयसमेत उठाइएको थियो। नागरिकता प्राप्तिमा देखिएका कानुनी तथा व्यावहारिक कठिनाइका कारण प्रभावित वा समस्यामा परेका महिलाका विषयमा मन्त्रालयको तहबाट आवश्यक सहजीकरण गर्न सकिने विषयमा छलफल भएको थियो।

मन्त्रालयका तर्फबाट महिला, बालबालिका तथा परिवारसँग सम्बन्धित विषयमा एनआरएनएसँग सहकार्यका लागि उपलब्ध अवसर तथा सम्भावित कार्यक्रमबारे थप छलफल गर्न सकिने बताइएको थियो।

सो अवसरमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष मनोज श्रेष्ठ, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, यूरोप उपक्षेत्रीय संयोजक राधा सिग्देल, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, सचिव दीपेश खत्री,फणिन्द्र भट्टराई, धर्मराज गिरि  सीईओ राजेन्द्र कुमार राउत, सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan