ट्रम्प–सी शिखर सम्मेलनअघि शीर्ष अमेरिकी र चिनियाँ आर्थिक अधिकारीहरूबीच वार्ता
चीन र अमेरिकाका शीर्ष नेताहरूबीच हुने शिखर सम्मेलनअघि व्यापार, कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य मुद्दाहरूमा सम्भावित सम्झौताका लागि आधार तयार पार्न अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार वार्ता सुरु गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष व्यापार अधिकारी जेमिसन ग्रीयर पनि सहभागी यो वार्ता न्यूयोर्कस्थित जेपीमर्गन चेजको मुख्यालयमा दिनभर चल्ने अपेक्षा गरिएको छ ।
यो विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरू ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार ह्वाइट हाउसमा हुने योजनाबद्ध भेटको पूर्वसन्ध्या हो ।
दुवै पक्षले व्यापार, प्रविधि र अन्य रणनीतिक चिन्ताहरूमा तनाव कम गर्ने प्रयास गर्नेछन् । यसमा नोभेम्बरमा सकिने व्यापार युद्धविराम सम्झौतालाई सम्भवतः थप गर्ने र कृत्रिम बुद्धिमत्ता विकासका लागि सुरक्षा उपायहरू समावेश छन् ।
“म आज लक्षित, पूर्ण र रचनात्मक वार्ताको अपेक्षा गर्दैछु जसले हाम्रा नेताहरूको भेटका लागि आधार तयार पार्नेछ,” बेसेन्टले आइतबार वार्ताका लागि आइपुग्दा पत्रकारहरूसँग बताउनुभयो ।
अमेरिकी अधिकारीहरू अमेरिकी निर्माताहरूका लागि महत्त्वपूर्ण दुर्लभ खनिज र अन्य महत्वपूर्ण उत्पादनहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्नेतर्फ पनि ध्यान केन्द्रित गर्नेछन्।
वासिङ्टनको तेहरानसँगको युद्ध सातौँ महिनामा प्रवेश गरेका समय अर्को मुद्दा इरानमाथि अमेरिकी आर्थिक दबाब हो ।
चीन इरानको प्रमुख आर्थिक साझेदार हो जसले यसको अधिकांश तेल उत्पादन किन्ने गर्छ र कूटनीतिक रूपमा पनि महत्त्वपूर्ण समर्थक हो।
विश्लेषकहरूले ट्रम्प–सी शिखर सम्मेलनका अपेक्षाहरू न्यून रहेको चेतावनी दिएका छन्।
“छोटो अवधिमा हामीले आशा गर्न सक्ने एकमात्र कुरा युद्धविराम हो र यो (युद्ध) सम्भवतः यस वर्षको बाँकी समयसम्म जारी रहनेछ,” पूर्व अमेरिकी उपराज्य सचिव कुर्ट क्याम्पबेलले भन्नुभयो ।
“मलाई लाग्छ राष्ट्रपतिले सी चिनफिङसँग थप दुई पटक भेट्ने मनसाय घोषणा गर्नुहुनेछ,” अहिले द एशिया ग्रुप परामर्शदाता संस्थाका अध्यक्ष रहेका क्याम्पबेलले थप्नुभयो ।
ट्रम्प र सी नोभेम्बरमा चीनको सेनजेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चमा भेट्ने अपेक्षा गरिएको छ । ट्रम्पले डिसेम्बरमा मियामीस्थित आफ्नो डोरल रिसोर्टमा हुने जी–२० शिखर सम्मेलनमा पनि सीलाई आमन्त्रण गर्ने अनुमान गरिएको छ ।
