Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साउदीको राजधानीमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
newsabhiyan

इरानको समर्थनमा यमनबाट सञ्चालित हुथी लडाकुले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरिएको बताएका छन्।

साउदी अधिकारीहरूले शनिवार रियादतर्फ प्रहार गरिएको एउटा बलिस्टिक क्षेप्यास्त्रलाई निस्तेज गरिएको बताएका छन्। थप आक्रमण भए वा नभएको र त्यसमा मानिसहरू परे वा नपरेको उनीहरूले पुष्टि गरेका छैनन्।

यसअघि साउदी राजधानीको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैका इन्धन भण्डारण ट्याङ्कीबाट धुवाँको कालो मुस्लो उठिरहेको देखिएको थियो। विमानस्थलका उडान पनि केही समय प्रभावित भएका थिए।

इरान समर्थित हुथीहरूले जुलाईयता साउदी अरबमाथि बढाएको आक्रमणपछि शनिवार पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो।

अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका अमेरिकीहरूलाई सतर्क रहन र यो क्षेत्रमा हुने यात्राबारे सोचविचार गर्न आग्रह गरेको छ।

साउदी नेतृत्वको गठबन्धनका एक जना प्रवक्ताले वक्तव्यमा यान्बो सहितका सहरमा "नागरिकलाई निशाना बनाउने शत्रु पक्षको प्रयास"लाई हवाई प्रतिरक्षा प्रणालीले असफल बनाएको बताएका छन्।

अनलाइनमा प्रकाशित वक्तव्यमा हुथीका सैन्य प्रवक्ता याह्या अल-सारेआले रियादका "संवेदनशील स्थान" र यान्बोको तटीय क्षेत्रमा रहेको सरकारी तेल तथा ग्यास कम्पनी अरामकोमाथि आक्रमणका लागि "ठूलो सङ्ख्यामा बलिस्टिक र क्रूज क्षेप्यास्त्र तथा ड्रोन" प्रयोग गरिएको बताएका छन्।

हुथीहरूको नियन्त्रणमा रहेको यमनको राजधानी सानालाई निशाना बनाउने "साउदी शत्रुको आपराधिक प्रयासको जवाफमा" उक्त आक्रमण गरिएको उनको भनाई छ।

यसअघि गएको एक सातामा साउदी अरबले यमनभरि ३०० वटा हवाई आक्रमण गरेको सारेआको आरोप छ।

हुथीहरूले साउदी अरबको समर्थन रहेको यमनको सरकारविरुद्ध गृहयुद्ध गरिरहेका छन्। यमनको उक्त सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

हुथीले पछिल्ला महिनामा कैयौँ पटक साउदी अरबभित्र आक्रमण गरिरहेका छन्। यमनको आकाशमा यसैसाता एउटा साउदी लडाकु विमान खसालिएको घटनाको हुथीले जिम्मा लिएका थिए।

हुथी र साउदी समर्थित सरकारी फौजबीचको लडाइँमा शनिवार ४८ जनाको ज्यान गएको छ एएफपी समाचार एजेन्सीले सैन्य स्रोतहरूलाई उल्लेख गर्दै जनाएको छ। यद्यपि उक्त विवरणको आधिकारिक रूपमा पुष्टि भएको छैन।

संयुक्त राष्ट्रसङ्घको आप्रवासन सम्बन्धी निकाय आईओएमका अनुसार हालैको लडाइँका कारण विस्थापित हुनेको सङ्ख्या १ लाख नाघेको छ।

यसअघि रियादमा कैयौँ विस्फोट जस्ता आवाज सुनिएका थिए। रियादको खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो समस्या आएको र कैयौँ उडानहरू ढिलो भएका वा स्थगित भएका विवरण आएका थिए।

साउदीको नागरिक सुरक्षा निकायले रियाद तथा अन्य क्षेत्रमा सम्भावित खतरा हुनसक्ने चेतावनी दिँदै राती मोबाइल फोनहरूमा सन्देश पठाएको थियो। शनिवार बिहान उक्त खतरा टरेको सूचना जारी गरिएको थियो। बीबीसी नेपालीबाट । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan