Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेसलाई ‘ब्याटल ग्राउन्ड’ बन्न दिन्नँ : अमरेश सिंह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
newsabhiyan

जात, धर्म र भूगोलका नाममा विभाजन होइन, अब ‘६ स’ मार्फत मधेसको आर्थिक रूपान्तरणमा जोड

काठमाडौं, ४ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिक स्वार्थका नाममा विभाजन गरेर द्वन्द्वको मैदान बनाउन खोजिए त्यसको प्रतिरोध गर्ने बताएका छन्।

आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मुलुकको आगामी राजनीति विभाजन र टकरावमा नभई सामाजिक एकता, राष्ट्रिय एकता र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।

उनले मधेस र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउने प्रयास भइरहेको दाबी गर्दै देशभित्र तथा बाहिरका विभिन्न शक्तिका गतिविधिप्रति सचेत हुनुपर्ने बताए।

“हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,” सिंहले भने, “जात, धर्म र भूगोलका नाममा समाजलाई विभाजित गरेर हामी कहीँ पनि पुग्न सक्दैनौँ।”

उनको अभिव्यक्ति यस्तो समयमा आएको छ, जतिबेला मधेसको राजनीति लामो समयदेखि पहिचान, प्रतिनिधित्व, विकास, सीमा, नागरिकता, सामाजिक विभाजन र आर्थिक पछौटेपनजस्ता बहुआयामिक विषयसँग जोडिँदै आएको छ।

सिंहले भने अब मधेसको राजनीतिलाई केवल आन्दोलन, नाराबाजी र सत्ता समीकरणको विषय नबनाई जनताको दैनिक जीवनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

छठपछि मेची–महाकाली पैदलयात्रा
सिंहले छठ पर्वको पारणका दिन जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गरेपछि झापाको भद्रपुरबाट मेची–महाकाली पैदलयात्रा सुरु गर्ने घोषणा गरेका छन्।

उनका अनुसार यात्रा गाडी, रथ वा ठूलो राजनीतिक सभाको शैलीमा नभई पैदल हुनेछ। यात्राको उद्देश्य भाषण गर्नुभन्दा जनताको कुरा सुन्ने रहेको उनले बताए।

गाउँ–गाउँ र टोल–टोल पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने तथा ठूलो मञ्च बनाएर भाषण गर्नुभन्दा २०० देखि ४०० जनासम्मको समूहमा जनताका समस्या, गुनासा र सुझाव सुन्ने उनको योजना छ।

“राजनीति भनेको समाज जोड्नका लागि हो,” सिंहले भने, “म यात्रामा कम बोल्छु, जनताको कुरा बढी सुन्छु।”

उनका अनुसार यात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका कठिनाइ र स्थानीय अर्थतन्त्र चलायमान हुन नसक्नुका कारणबारे प्रत्यक्ष जानकारी लिइनेछ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या पनि यात्राको प्रमुख विषय बन्ने उनले बताए। सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध, सीमा क्षेत्रमा सुरक्षाकर्मी र नागरिकबीच देखिने समस्या तथा सीमावर्ती अर्थतन्त्रमा परेको प्रभावबारे स्थानीयसँग छलफल गर्ने सिंहको भनाइ छ।

मधेस विकासका लागि ‘६ स’
सिंहले मधेसको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले यसलाई मधेस विकासको ‘६ स’ अवधारणाका रूपमा अघि सारेका छन्।

मधेसमा शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारसँगै भौतिक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

विशेषगरी सरकारी मेडिकल कलेज, इन्जिनियरिङ तथा कृषि कलेजको विस्तार आवश्यक रहेको उनले बताए। ठूलो जनसंख्या रहेको मधेसका नागरिक जटिल स्वास्थ्य उपचारका लागि काठमाडौं वा अन्य ठूला सहरमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने सिंहको धारणा छ।

मुटु, मिर्गौला र क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि सरकारी स्तरमै सुपर स्पेसियलिटी सेवा विस्तार गर्नुपर्ने उनले बताए।

“मधेसका नागरिक उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था कहिलेसम्म ?” भन्ने प्रश्न उठाउँदै उनले स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए।

सडकभन्दा सिँचाइको प्रश्न पनि उत्तिकै गम्भीर
सिंहले मधेसको अर्थतन्त्र सुधारका लागि सडकसँगै सिँचाइ पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

हुलाकी राजमार्ग अझै पूर्ण रूपमा सम्पन्न हुन नसकेको तथा कमला, वाग्मतीलगायतका नदीमा पुल र अन्य पूर्वाधार निर्माणका समस्या समाधान हुन नसकेको उनले बताए।

मधेस कृषि उत्पादनको महत्वपूर्ण क्षेत्र भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा ठूलो भूभाग उत्पादनबाट बाहिर रहने अवस्था रहेको उनको दाबी छ।

कोशीको पानी सप्तरी–सिरहासम्म तथा गण्डकको पानी बारा, पर्सा र रौतहटसम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्नुको कारण खोजिनुपर्ने उनले बताए।

धनुषालगायतका जिल्लामा सिँचाइ अभावका कारण खेतीयोग्य जमिनको पूर्ण उपयोग हुन नसकेको उल्लेख गर्दै उनले मधेसको आर्थिक समृद्धिको आधार कृषि भएकाले पानीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताए।

‘पोखरी सौन्दर्यीकरणभन्दा विद्यालय र अस्पताल’
सिंहले मधेस प्रदेशमा विकास बजेटको प्राथमिकतामाथि पनि प्रश्न उठाएका छन्। पोखरी सौन्दर्यीकरणका नाममा बजेट खर्च गर्ने तर विद्यालय र अस्पतालको भौतिक अवस्था सुधारमा पर्याप्त ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

उनले विकासलाई केवल कंक्रिट संरचना निर्माणका रूपमा बुझ्न नहुने बताए। कतिपय पोखरीमा अत्यधिक कंक्रिट प्रयोग गर्दा पानीको प्राकृतिक पुनर्भरणमा असर पर्न सक्ने भन्दै उनले स्थानीय आवश्यकता, वातावरणीय प्रभाव र दीर्घकालीन उपयोगितालाई आधार बनाएर विकास योजना छनोट गर्नुपर्ने बताए। “विकास भनेको कंक्रिट मात्रै होइन,” सिंहले भने।

धार्मिक तथा जातीय तनावप्रति चिन्ता
सिंहले मधेसमा पछिल्ला वर्षहरूमा धार्मिक तथा साम्प्रदायिक तनाव, जातीय विभाजन र आपराधिक गतिविधिका विषयमा पनि चिन्ता व्यक्त गरे।

उनले अदालत, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयमा रहेका मुद्दा र भीडसँग सम्बन्धित तथ्यांक अध्ययन गरेर वास्तविक अवस्था पहिचान गर्नुपर्ने बताए।

लागुऔषधको समस्या पनि मधेसमा गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले राजनीतिक प्रयाससँगै सामाजिक चेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताए।

“हामी जहाँ छौँ, हाम्रो एउटै पहिचान छ, हाम्रो एउटै समाज छ,” सिंहले भने। उनले समाजलाई विभाजित गरेर शासन गर्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने बताए।

मधेस आन्दोलनको उद्देश्यबारे पनि प्रश्न
सिंहले मधेस आन्दोलनको उद्देश्य संविधानमा केही विषय समावेश गराउनु वा केही राजनीतिक नेतृत्व स्थापित गर्नुमा मात्र सीमित नभएको बताए।

उनका अनुसार मधेस आन्दोलनको मूल उद्देश्य आर्थिक विकास, राजनीतिक सहभागिता र समान अवसर सुनिश्चित गर्नु थियो।

तर मधेसको वर्तमान अवस्थाका लागि काठमाडौंलाई मात्र दोष दिएर उम्कन नसकिने उनको भनाइ छ।

मधेसका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि आफ्ना कामको समीक्षा गर्नुपर्ने उनले बताए।

“हामी मधेसी नेताहरूले पनि सोच्नुपर्छ, हामीले के गल्ती गर्‍यौँ ?” सिंहले प्रश्न गरे।

विगतका राजनीतिक आन्दोलन र नेतृत्वले खेलेको भूमिकाको सम्मान गर्दै अब कमीकमजोरी पहिचान गरेर सुधार गर्नुपर्ने उनको भनाइ छ।

‘कमिसनको आरोपले मधेस बदनाम हुनु हुँदैन’
विकास निर्माणका योजनामा कमिसन र अनियमितताको आरोप लाग्ने गरेको विषय पनि सिंहले उठाए।

स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइजस्ता आधारभूत आवश्यकता पूरा गर्ने योजनालाई प्राथमिकता दिनुपर्ने तथा योजना छनोट पारदर्शी र आवश्यकतामा आधारित हुनुपर्ने उनले बताए।

उनका अनुसार विकास बजेटको सदुपयोग नभए त्यसको असर केवल एउटा आयोजना वा स्थानीय तहमा मात्र नभई समग्र मधेसको छविमा पर्न सक्छ।

‘मधेस मेरो लागि झापादेखि कञ्चनपुरसम्म’
सिंहले मधेसलाई मधेस प्रदेशका आठ जिल्लामा मात्र सीमित गरेर बुझ्न नहुने बताए। उनले आफूले मधेसलाई झापादेखि कञ्चनपुरसम्मको भूगोलका रूपमा बुझ्ने धारणा राखे।

जात, धर्म, भूगोल वा राजनीतिक दलका नाममा द्वन्द्व निम्त्याउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

“म कुनै पनि तरिकाको मधेसमा द्वन्द्व चाहन्नँ। मधेसलाई आउने दिनमा ब्याटल ग्राउन्ड बनाउन दिइँदैन,” सिंहले भने।

रास्वपाको मधेस आधारबारे पनि प्रश्न
रास्वपाको राजनीतिक आधार निर्माणमा मधेसको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै सिंहले मधेसबाट प्राप्त जनमतलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए।

मधेसले दिएको राजनीतिक समर्थनअनुसार विकास र राजनीतिक सहभागितामा पनि प्राथमिकता पाउनुपर्ने उनको भनाइ छ।

त्यससँगै रास्वपाले पहाडी क्षेत्रमा अपेक्षित रूपमा संगठन विस्तार गर्न नसकेको विषयमा पनि पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको उनले बताए।

यसरी सिंहको पछिल्लो अभिव्यक्ति केवल मधेसकेन्द्रित राजनीतिक भाषणमा सीमित देखिँदैन। उनले मधेसको समस्या विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सीमा व्यापार, सुरक्षा र सामाजिक सद्भावसँग जोड्दै समाधानको बहसलाई नयाँ ढंगले अघि बढाउने संकेत गरेका छन्।

अब छठपछि सुरु हुने भनिएको मेची–महाकाली पदयात्राले सिंहका यी एजेन्डालाई व्यवहारमा कति जनतासम्म पुर्‍याउँछ भन्ने प्रश्न भने बाँकी छ।

तर एउटा कुरा स्पष्ट छ—सिंहले मधेसको राजनीति जातीय वा क्षेत्रीय विभाजनको नाराभन्दा जनताको दैनिक समस्या, आर्थिक समृद्धि र राष्ट्रिय एकताको मुद्दामा केन्द्रित गर्नुपर्ने सन्देश दिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan