Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोरखामा हुलाकमार्फत घरमै राहदानी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)

गोरखा, ३१ भदौः जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । वैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । घरमै राहदानी लिन ६०० जनाले फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो । 

बाँकीको राहदानी आउने क्रममा रहेको उहाँको भनाइ छ । गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी (पासपोर्ट) पुर्याउने निर्णय गरेको थियो । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत हुलाक सेवामार्फत राहदानी नागरिकको घरघरमै पुर्याउने नीतिनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख १५ गते सम्झौता भएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाकबीच गृहजिल्लाभित्र नागरिकको घरघरमा राहदानी पुर्याउने सम्झौता भएको उहाँको भनाइ छ । 

“सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयमा एउटा काउन्टर नै स्थापना गरेर हुलाक कार्यालयका एक जना कर्मचारी राखेका छौँ”, गैरेले भन्नुभयो, “प्रशासनमा राहदानीको फारम भर्न आउने सेवाग्राहीले फारम भर्दा राहदानी लिन कार्यालयमै आउने अथवा घरमै लिने भन्ने छनोट गर्नुहुन्छ । घरमै लिने भन्नेहरूको हकमा हुलाकको फारम भराएर आवश्यक विवरण टिप्ने गरेका छौँ । सोही विवरणको आधारमा राहदानी आएपछि घरमै पुर्याइदिन्छौँ ।” घरमै राहदानी लिनका लागि सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्ने उहाँको भनाइ छ । त्यसबाहेक अन्य अतिरिक्त शुल्क नलाग्ने उहाँको भनाइ छ ।
 
राहदानीको फाराम भरेका सेवाग्राहीले घरमै राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालयको हुलाक काउन्टरमा आवश्यक विवरण टिपाउनुपर्ने व्यवस्था छ । सेवाग्राहीले आफ्नो नाम, नम्बर, ठेगानालगायतका विवरण टिपाउनुपर्ने हुलाक कार्यालयले जनाएको छ । 

काठमाडौँबाट छापिएर आएका राहदानी प्रशासन कार्यालयले हुलाक कार्यालयको जिम्मा लगाइसकेपछि जिल्लाभित्र कम्तीमा तीन दिनभित्र सेवाग्राहीको घरघरमा पुग्ने हुलाक अधिकृत विनोद गैरेले बताउनुभएको छ । “सेवाग्राहीले राहदानी लिइसकेपछि हामीले त्यसको रसिद बनाएर प्रशासन कार्यालयलाई बुझाउँछौँ”, उहाँले भन्नुभयो ।
 
जिल्ला हुलाक कार्यालयले उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा पनि घरमै राहदानी पुर्याउने सरकारको नीतिबमोजिम काम गरिरहेको छ । यद्यपि भौगोलिक विकटताका कारण चुमनुब्रीको हकमा पालिकाको केन्द्र फिलिमबाहेक अन्य ठाउँ घरघरमा राहदानी पुर्याउने विषय जटिल रहेको जिल्ला हुलाक कार्यालय गोरखाका प्रमुख विनोद गैरे बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “चुमनुब्रीमा पालिका केन्द्रसम्म मात्र पठाउन सक्छौँ, त्यो भन्दामाथि पुर्याउने जनशक्ति र स्रोतसाधन हामीसँग छैन । सरकारको नीतिअनुसार हामीले भएका जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरेर यो सेवा सञ्चालनका ल्याएका हौँ ।” जिल्लाको पालुङटार नगरपालिका, सहिदलखन र आरुघाट गाउँपालिकाका अधिकांश सेवाग्राहीले घरमै राहदानी बुझिलिने गरेको जिल्ला हुलाक कार्यालय गोरखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan