प्रशासनिक र राजनीतिक नेतृत्वबीचको सहकार्य आवश्यक
दाङ, २६ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रशासनिक र राजनीतिक नेतृत्वबीचको समन्वय र सहकार्यले सरकारका कामलाई परिणाममुखी बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज आयोजित एक कार्यक्रममा उहाँले प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन समन्वय र सहकार्यको माध्यमलाई प्राथमिकता दिएको जनाउँदै मुख्य कृष्णप्रसाद काप्रीले आफ्नो कार्यकालमा मन्त्रालयको सङ्ख्या घटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा अनुकरणीय काम गरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा मुख्य सचिव काप्रीले प्रदेशमा केही नयाँ कामको थालनी र प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । ‘कानुनमा रहेर काम गर्नुपर्छ र त्यसबाट नतिजा निकाल्नुपर्छ’ भन्ने मान्यताका साथ आफूले जिम्मेवारी पूरा गरेको उहाँको भनाइ थियो ।
गत मङ्सिर १ गते लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएका काप्रीले नौ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गर्नुभयो । उहाँको निर्वाचन आयोगमा सरुवा भएको छ । विदाइ कार्यक्रममा भौतिक पुर्वाधार विकासमन्त्री रत्नबहादुर खत्री, प्रदेश सरकारका सचिव, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।
