Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस/एएफपी)

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ दलले जित हासिल गर्ने सम्भावना देखिएको छ । यसले प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको लेबर पार्टीलाई ठूलो पराजयको सामना गराउन सक्ने अनुमान गरिएको छ ।

    अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्न रहेको भिक्टोरियामा मध्यवामपन्थी लेबर पार्टीले १२ वर्षदेखि शासन गर्दै आएको छ । तर, यसै साता सार्वजनिक मतसर्वेक्षणहरूले राज्यको लिबरल पार्टीकी नेता जेस विल्सनले लेबरलाई सत्ताबाट हटाउने सम्भावना देखाएका छन् ।

    ३६ वर्षीया विल्सनले अत्यधिक ऋणमा रहेको राज्यको वित्तीय अनुशासन कायम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार सार्वजनिक न्युसपोल सर्वेक्षणले कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले ठूलो अन्तरले जित्ने देखाएको छ ।

    वर्तमान मुख्यमन्त्री बेन क्यारोललाई पराजित गरेमा विल्सन राज्यको पहिलो महिला लिबरल मुख्यमन्त्री बन्नुहुनेछ । उहाँले भिक्टोरियाको देशकै सबैभन्दा बढी ऋण घटाउन २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिकी डलर) बराबरका उपाय अघि सार्नुभएको छ । यसमा ढल निकास प्रणाली निजीकरण गर्ने विवादास्पद योजना पनि समावेश छ ।

    “यो निर्वाचन मानिसहरूले सोचेभन्दा बढी प्रतिस्पर्धात्मक हुनेछ,” उहाँले च्यानल सेभेनसँग भन्नुभयो ।

    भिक्टोरियालाई देशव्यापी राजनीतिक प्रवृत्तिको सङ्केत दिने राज्यका रूपमा हेरिन्छ । यहाँ लेबर पराजित भएमा दोस्रो कार्यकालको मध्यावधिमा रहेका प्रधानमन्त्री अल्बानिजमाथि थप दबाब बढ्न सक्छ । जीवनयापनको बढ्दो लागतप्रति असन्तुष्टिका कारण उहाँको लोकप्रियता अहिलेसम्मकै न्यून स्तरमा झरेको छ ।

    मध्यपूर्वमा जारी लामो युद्ध र मुद्रास्फीतिको दबाबलाई कारण देखाउँदै अस्ट्रेलियाको केन्द्रीय बैंकले यसै महिना ब्याजदर बढाएर १८ वर्षयताकै उच्च स्तरमा पु¥याएको थियो ।

    मतदान केन्द्रहरू स्थानीय समयअनुसार बिहान ८ बजे खुलेर साँझ ६ बजे बन्द भएका थिए । यद्यपि, लाखौँ मतदाताले अग्रिम मतदान गरिसकेका थिए ।

    आप्रवासनविरोधी ‘वन नेसन’ पार्टीले पनि राज्यको संसद्मा पहिलोपटक सिट जित्ने सम्भावना देखिएको छ । राष्ट्रिय स्तरमा पाउलिन ह्यान्सन नेतृत्वको उक्त पार्टी पछिल्लो समय यथास्थितिप्रतिको असन्तुष्टिका कारण लोकप्रिय बनेको छ ।

    ह्यान्सनले भिक्टोरियाको आगामी सरकार गठनमा आफ्नो पार्टी निर्णायक बन्न सक्ने बताउनुभएको छ । शनिबार सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले लेबरको पराजयमा वन नेसनको ठूलो भूमिका रहेको दाबी गर्नुभयो ।

    “लेबर राज्यबाट बाहिरिँदै छ । उसको काम सकियो,” उहाँले भन्नुभयो, “लिबरलहरूले आफ्नै बलमा यो निर्वाचन जित्न सक्ने थिएनन् ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan