Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एल निनोले पेरु र इक्वेडरमा बाढी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस/एएफपी)

शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका विभिन्न सहर बाढीको चपेटामा परेका छन् । बाढीले पेरुमा हजारौँ परिवार प्रभावित भएका छन् भने इक्वेडरमा ३४ जनाको मृत्यु भएको र ४७ हजार जना प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

    उत्तरी पेरुको पिउरा सहरमा बिहीबारदेखि लगातार १२ घण्टासम्म परेको भारी वर्षाले सडकमा कम्मरसम्म पानी जमेको छ । राष्ट्रिय नागरिक सुरक्षा संस्थानका प्रमुख लुइस भास्केजका अनुसार प्रारम्भिक विवरणमा वर्षाबाट करिब दुई हजार परिवार प्रभावित भएका छन् ।

    पिउराको सान्ता मार्गारिटा क्षेत्रका बासिन्दा पियरे गाराविटोले एल निनोको प्रभावस्वरूप परेको यो पहिलो ठूलो वर्षाले आफ्नो घरका सामान नष्ट गरेको बताउनुभएको छ । उहाँका अनुसार छिमेकका अन्य बासिन्दाले पनि यस्तै क्षति बेहोर्नुपरेको छ । अर्का स्थानीय बासिन्दा सिजर पाचेरेले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी नगरेको भन्दै स्थानीय अधिकारीहरूको आलोचना गर्नुभएको छ ।

    बाढीका कारण पेरुका राष्ट्रपति केइको फुजिमोरीले कोलम्बिया भ्रमण स्थगित गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बनाउनुभएको छ । पिउरामा नर्सका रूपमा कार्यरत २६ वर्षीया येरान सेस्पेडेस मोरालेसले घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा र बालबालिकाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

    पेरु र छिमेकी इक्वेडरसहित ल्याटिन अमेरिकाका केही देशले एल निनोको प्रभावका कारण राष्ट्रिय आपत्काल घोषणा गरेका छन् । मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढ्ने यस प्राकृतिक घटनाले विश्वभर हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ । यस वर्षको एल निनो अहिलेसम्मकै शक्तिशालीमध्ये एक हुने अनुमान गरिएको छ र यसले महादेशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसम निम्त्याइसकेको छ ।

    इक्वेडरको जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय सचिवालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एल निनोसँग सम्बन्धित भारी वर्षाका कारण ३४ जनाको मृत्यु भएको छ भने ४७ हजार जना प्रभावित भएका छन् । पश्चिमी सहर मान्टामा दुई नदीले किनारा नाघेपछि बासिन्दाहरू छातीसम्म डुब्ने पानीमा हिँड्न बाध्य भएका छन् ।

    स्थानीय ४१ वर्षीया फर्नान्डा नाभारेटले आफूहरू चार दिनदेखि हिलो र पानीमा बस्नुपरेको बताउनुभएको छ । उहाँका अनुसार बाढीले घरका फर्निचर, लत्ताकपडा र उपकरण नष्ट गरेको छ । ढल निकासका संरचना फुट्दा दुर्गन्ध फैलिएको र जनजीवन कष्टकर बनेको उहाँले बताउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan