Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस/एएफपी)

उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिना दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटमा किमको चीन भ्रमण हुन सक्ने सङ्केत गर्नुभएको थियो ।

    दक्षिण कोरियाली प्रसारक केबीएसले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै चीनको सीमावर्ती सहर डान्डोङमा किमको सम्भावित भ्रमणको तयारीस्वरूप आपत्कालीन आदेश जारी गरिएको जनाएको छ । किमले गत अक्टोबरमा पनि उक्त सहरको अघोषित एकदिने भ्रमण गर्नुभएको थियो ।

    दक्षिण कोरियाको जासुसी निकायले शनिबार विभिन्न घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । तर, राष्ट्रपति कार्यालयले सीले किमको भ्रमणबारे केबीएसले उल्लेख गरेअनुसारको कुरा नगर्नुभएको स्पष्ट पार्दै उत्तर कोरिया–चीन सम्बन्धको निगरानी भइरहेको जनाएको छ ।

    चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आफूलाई आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

    किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वार्ता प्रस्तावलाई बेवास्ता गर्दै आउनुभएको छ । विशेषज्ञहरूका अनुसार प्योङयाङले वार्ताका लागि अमेरिकाबाट आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता खोजिरहेको छ, जसले वासिङ्टन र सियोलका लागि कूटनीतिक तथा सुरक्षा चुनौती निम्त्याउन सक्छ ।

    विश्लेषकहरूका अनुसार चीन भ्रमण भएमा किमले राष्ट्रपति सीसँग अमेरिका–चीन वार्ताको परिणाम तथा उत्तर कोरियाको अर्को सहयोगी रुससँगको सम्भावित त्रिपक्षीय शिखर बैठकबारे छलफल गर्न सक्नुहुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan