Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस-एएफपी)

क्वालालम्पुर, ९ मङ्सिर : मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ ।

सम्झौताअनुसार थप छवटा विमान खरिद गर्न सक्ने विकल्पसमेत कम्पनीलाई उपलब्ध हुनेछ ।

मलेसिया एयरलाइन्सको मूल कम्पनी मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्यक्ष नसरुद्दीन ए बकरले बुधबार क्वालालम्पुरमा विमान खरिदसम्बन्धी जानकारी दिनुभएको हो ।

उहाँका अनुसार विस्तृत मूल्याङ्कनपछि ड्रीमलाइनर विमानलाई छनोट गरिएको हो । यसले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने उहाँले बताउनुभयो ।

सम्झौताको वास्तविक मूल्य सार्वजनिक गर्न अस्वीकार गर्दै अध्यक्ष बकरले यसलाई एमएजी र बोइङबीचको व्यावसायिक कारोबार बताउनुभयो ।

यद्यपि, थप छुटअघि १६ वटा विमान र तिनका इन्जिनको सूची मूल्य करिब नौ अर्ब ३० करोड अमेरिकी डलर रहेको उहाँले जानकारी दिनुभयो ।

विमान निर्माता कम्पनीहरूले ग्राहकलाई दिने छुटका कारण वास्तविक खरिद मूल्य फरक पर्ने भएकाले पछिल्लो समय सूची मूल्य सार्वजनिक गर्न छाडेका छन् ।

करिब ३३० यात्रु बोक्न सक्ने बोइङ ७८७–१० ले एयरबस ए३५०–९०० र ए३३०–९०० नियोसँग प्रतिस्पर्धा गर्नेछ ।

मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र इन्धन दक्षताको आवश्यकताबीच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले विमान बेडा आधुनिकीकरण गरिरहेका बेला मलेसिया एयरलाइन्सको यो घोषणा आएको हो ।

एमएजीले गत वर्ष मार्चमा ३० वटा बोइङ ७३७–८ र ७३७–१० विमान खरिद गर्ने घोषणा गरेको थियो ।

अध्यक्ष बकरले नयाँ विमान छनोट यस दशकमा मलेसिया एयरलाइन्सका लागि सबैभन्दा महत्त्वपूर्ण विमान बेडा विस्तारसम्बन्धी निर्णयमध्ये एक भएको बताउनुभयो । यसबाट खरिद गरिने विमानले आगामी दशकसम्म यात्रुलाई सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan