विद्यालयलाई बस खरिद गर्न समुदाय जुट्दै
झापा, ६ मङ्सिर : मेचीनगर र भद्रपुरस्थित दुई सामुदायिक विद्यालयमा बस खरिद गर्न पूर्वविद्यार्थी, अभिभावक र स्थानीय समुदायले आर्थिक सहयोग जुटाउन थालेका छन् ।
मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयका लागि पूर्वविद्यार्थी समाजले बस खरिद अभियानअन्तर्गत हालसम्म रु १३ लाख ६० हजार सङ्कलन गरिसकेको छ । पूर्वविद्यार्थी समाजका अध्यक्ष परशुराम पराजुलीको नेतृत्वमा सञ्चालित अभियानमा पूर्वविद्यार्थीबाट स्वेच्छिक रूपमा रु १० लाख तथा विद्यालयका शिक्षक र कर्मचारीबाट रु तीन लाख ६० हजार सङ्कलन भएको हो ।
नगरका विद्यालयलाई बस खरिदमा मेचीनगर नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । सोही अनुदान उपयोग गरी बस खरिद गर्ने उद्देश्यले रकम जुटाइएको र छिट्टै नगरपालिकामा अनुदानका लागि प्रस्ताव पेस गर्ने तयारी भइरहेको शिक्षक जीआर धितालले जानकारी दिनुभयो ।
पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म एक हजार १०० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बाहुनडाँगीदेखि ज्यामिरगढीसम्मका विद्यार्थी आउने गरेका छन् । “हाल टाढाका अभिभावकले अटो रिक्सा ९सिटी० को व्यवस्था गरेर बालबालिका पठाइरहनुभएको छ”, शिक्षक धितालले भन्नुभयो, “विद्यालयको आफ्नै बस भएपछि आवतजावतमा निकै सहज हुनेछ ।”
त्यसैगरी, भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयमा सवारीसाधन खरिदका लागि देउसी–भैलो कार्यक्रमबाट रु सात लाख ९८ हजार ८०३ सङ्कलन भएको छ । विद्यार्थीको आवागमनलाई सुरक्षित र सहज बनाउन विद्यालय बस अपरिहार्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर तामाङले बताउनुभयो ।
उहाँका अनुसार बस खरिद अभियानमा विदेशमा रहेका शुभेच्छुक तथा पूर्वविद्यार्थीहरूले समेत आर्थिक सहयोग गरिरहनुभएको छ ।
