स्वायत्त हतियारमा मानवीय नियन्त्रणको माग
जेनेभा, २ मङ्सिर : मानवीय हस्तक्षेपबिना मानिसको जीवन र मृत्युको निर्णय गर्न सक्ने स्वायत्त हतियारको जोखिम बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस समितिले त्यस्ता हतियारको प्रयोगमा बाध्यकारी नियम बनाउन आग्रह गरेको छ ।
जेनेभामा संयुक्त राष्ट्रसङ्घअन्तर्गत भइरहेको सम्मेलनमा सहभागी देशहरूले स्वायत्त हतियार नियमन गर्ने विषयमा छलफल गरिरहेका छन् ।
रेडक्रसका हतियार एकाइ प्रमुख लरेन्ट जिसेलले अप्रत्याशित व्यवहार गर्न सक्ने यस्ता हतियार ठूलो सङ्ख्यामा प्रयोग हुनुअघि नै नियम बनाउनुपर्ने बताउनुभएको छ ।
कृत्रिम बौद्धिकता (एआई) मा आधारित हतियारले मानिसलाई तथ्याङ्कमा सीमित गरी एल्गोरिदममार्फत कसले बाँच्ने र कसले ज्यान गुमाउने भन्ने निर्णय गर्न सक्ने उहाँको चिन्ता छ ।
विशेषगरी लक्ष्य आफैँ पहिचान गरी आक्रमण गर्ने हतियारले नागरिक पूर्वाधारमा क्षति पु¥याउन र अन्तर्राष्ट्रिय मानवीय कानून उल्लङ्घन गर्न सक्ने उहाँले चेतावनी दिनुभएको छ ।
रेडक्रसले सबै स्वचालित हतियारमा प्रतिबन्ध लगाउन नभई अप्रत्याशित व्यवहार गर्ने तथा मानिसलाई प्रत्यक्ष निशाना बनाउने स्वायत्त हतियारमा प्रतिबन्ध लगाउन माग गरेको छ ।
युद्धभूमिमा लक्ष्य बनाइएको व्यक्ति घाइते वा आत्मसमर्पण गरेको अवस्थामा पनि यस्ता प्रणालीले परिस्थिति पहिचान गर्न नसक्ने जोखिम रहेको जिसेलको भनाइ छ ।
यस्ता हतियार आतङ्कवादी समूह, आपराधिक सङ्गठन वा आफ्नै नागरिकमाथि दमन गर्ने राज्यको हातमा पुग्न सक्ने खतरा पनि उहाँले औँल्याउनुभएको छ ।


