एमालेभित्र अनुशासन र आचरणमा विचलन बढेको महासचिव पोखरेलको स्वीकारोक्ति
काठमाडौं, २ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर समस्या देखिएको बताएका छन् ।
बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले पार्टीभित्र देखिएको विचलनले नेता तथा कार्यकर्तामा चिन्ता बढाएको उल्लेख गरेका हुन् ।
उनले पार्टीप्रतिको जनविश्वास कायम राख्न र संगठनलाई बलियो बनाउन शुद्धीकरण अभियान आवश्यक भए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकिएको स्वीकार गरेका छन् ।
‘पार्टीप्रतिको जनविश्वास जोगाउन, संगठनलाई सुदृढ बनाउन र कम्युनिस्ट आचरणलाई व्यवहारमा स्थापित गर्न पार्टी शुद्धीकरण अभियान आवश्यक छ भन्ने निष्कर्षसहित दशौँ महाधिवेशनपश्चात् एजेन्डा बनाएर नै छलफलसमेत गरिएको थियो,’ कार्यपत्रमा भनिएको छ, ‘तर त्यसलाई व्यवहारमा लैजान सकिएन । परिणामस्वरूप पार्टीमा समस्या बढ्दै जाने स्थिति उत्पन्न भएको छ ।’
महासचिव पोखरेलले पार्टी शुद्धीकरणको उद्देश्य कसैलाई निषेध गर्नु नभई पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वास पुनर्स्थापित गर्नु रहेको स्पष्ट पारेका छन् । एउटै प्रकृतिका घटनामा फरक–फरक मापदण्ड अपनाउन नहुने उनको भनाइ छ ।
कार्यपत्रमा उनले नेता तथा कार्यकर्ताको जनमुखी जीवनशैली, नैतिक तथा चारित्रिक सदाचार, आधारभूत वर्ग र समुदायसँगको सम्बन्ध सुधार तथा सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, पार्टीभित्रको अनुशासनहीनता, गुटबन्दी र अन्तर्घात अन्त्य गर्नुपर्ने, आर्थिक पारदर्शिता कायम गर्नुपर्ने, नेता तथा कार्यकर्ताको सम्पत्ति स्वघोषणा गर्ने व्यवस्था मिलाउनुपर्ने र प्रभावकारी अनुगमन तथा छानबिन प्रणाली विकास गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।


