प्रहरी प्रवक्ता तथा सूचना अधिकारीलाई जिम्मेवारीपूर्वक सूचना प्रवाह गर्न निर्देशन
काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले देशभरका प्रहरी कार्यालयमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहेका प्रहरी अधिकृतहरूलाई सूचना प्रवाह गर्दा जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट देशभरका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सम्बोधन गर्दै उनले आमनागरिक तथा सरोकारवाला निकायसँग सूचना आदानप्रदान गर्दा सूचनाको हक र गोपनीयताको हकलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्। कार्यक्रममा उपत्यकास्थित प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीहरूको प्रत्यक्ष उपस्थिति रहेको थियो।
उनले संगठन प्रमुखबाट भएका निर्देशन तथा विभिन्न विभागीय परिपत्रहरूको अक्षरशः पालना गर्नसमेत आग्रह गरेका छन्।
त्यसैगरी, प्रहरी कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा प्रहरी आचारसंहिताको पालना गरे–नगरेको नियमित अनुगमन गर्न र आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रहरी नियमावलीबमोजिम कारबाही गर्न स्पष्ट निर्देशन दिएका छन्।
सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन तथा संगठनको नीति, निर्देशन र आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न उक्त निर्देशन दिइएको हो।

