यमनमा साउदी आक्रमणमा बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी
यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको छ ।
हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमध्ये अधिकांश बालबालिका छन् । मन्त्रालयले साउदी विमानहरूले घर, आवासीय क्षेत्र र बजारलाई निशाना बनाएको आरोप लगाएको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले सोमबार साँझ दिएको जानकारीअनुसार, साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा १०९ पटक हवाई आक्रमण गरेको छ । ती आक्रमण सादा, ताइज, लाहज, अल–जौफ र होदेइदाह प्रान्तमा केन्द्रित थिए ।
हुथी समूहले साउदी अरबको पूर्वी र दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी पनि गरेको छ ।
यमन सन् २०१४ देखि सशस्त्र द्वन्द्वको चपेटामा छ । त्यस वर्ष हुथी विद्रोहीहरूले राजधानी साना कब्जा गरेका थिए । त्यसको एक वर्षपछि अन्तरराष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धन युद्धमा सहभागी भएको थियो ।
सन् २०२२ मा भएको युद्धविराम सम्झौता गत जुलाईमा भङ्ग भएपछि द्वन्द्व पुनः चर्किएको थियो । त्यसपछि सेप्टेम्बरमा हुथीहरूले रणनीतिक महत्वको बाब अल–मान्देब जलडमरुमाथि नियन्त्रण कायम गर्न आक्रमण सुरु गरेका थिए । उक्त जलमार्गले लालसागर र स्वेज नहर हुँदै युरोपलाई एसियासँग जोड्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, यमनमा पुनः लडाइँ सुरु भएयता एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

