गोविन्द केसीका मागप्रति सरकार संवेदनशील, संवादमार्फत अनशन अन्त्य गर्न आग्रह
काठमाडौं । सरकारले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनमा रहेका प्रा.डा. गोविन्द केसीका मागप्रति आफू संवेदनशील रहेको जनाएको छ। शिक्षा क्षेत्रमा सुधारका लागि केसीले उठाएका अधिकांश विषय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै सरकारले संवाद र सहकार्यमार्फत अनशन अन्त्य गर्न आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा केसीले उठाएका मागहरूको हालसम्मको कार्यान्वयन अवस्थाबारे स्पष्ट पार्दै चिकित्सा शिक्षा क्षेत्रमा चरणबद्ध सुधारका काम भइरहेको जनाएको छ।
विज्ञप्तिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरेर एमबीबीएस तथा नर्सिङलगायत कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको हो। चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनका आधारमा मुख्यतः सरकारी शिक्षण संस्थामा विद्यार्थी सिटसमेत वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सम्बन्धित पदाधिकारीमाथि आवश्यक छानबिन सरकारले गर्ने प्रतिबद्धता जनाएको छ। गेटास्थित शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा रहेको र आवश्यकताअनुसार थप विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ।
विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई विवादरहित र दलीय प्रभावमुक्त बनाउन नियुक्तिका आधारसहित कानुनी प्रावधान थप गर्ने उद्देश्यले केही नेपाल ऐन संशोधनको प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ।
चिकित्सा शिक्षामा छात्रवृत्ति कोटा र गुणस्तरसम्बन्धी व्यवस्था ऐन तथा कानुनी मापदण्डअनुसार कार्यान्वयन भइरहेको मन्त्रालयको दाबी छ। चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डका आधारमा विद्यार्थी कोटा निर्धारण गरिएको र गुणस्तर कायम गर्न आवश्यक मापदण्ड लागू गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, विगतमा सरकार र डा. केसीबीच भएका सहमति कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको छ। २०८३ साउन ११ गते भएको सहमतिसहित यसअघिका सत्याग्रहका क्रममा भएका सहमतिको कार्यान्वयन अवस्था विश्लेषण गर्न गठित कार्यदल प्रतिवेदनको मस्यौदा तयार गर्ने चरणमा रहेको मन्त्रालयले जनाएको छ।
सरकारले सुर्खेत, बुटवल र बर्दिवासमा चिकित्सा शिक्षा संस्था स्थापना गर्ने काम अघि बढाइएको र त्यसका लागि थप बजेट व्यवस्थापनको प्रक्रिया भइरहेको पनि स्पष्ट पारेको छ। सबै प्रदेश र भूगोलमा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले चिकित्सा शिक्षा सुधार, सेवा प्रभावकारिता र सुशासनप्रति सरकार प्रतिबद्ध रहेको जनाउँदै डा. केसीले उठाएका विषयलाई संवाद र सहकार्यमार्फत सम्बोधन गरिने बताएको छ।
चिकित्सा शिक्षा सुधारका लागि उठाइएका धेरै माग कार्यान्वयन भइसकेको दाबी गर्दै सरकारले सुधारका थप कार्ययोजना निर्माण र कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेको छ। साथै, जारी सत्याग्रह अन्त्य गर्न प्रा.डा. केसीलाई विनम्र अनुरोध गरेको छ।

