ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो
काठमाडौँ, १४ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी हुन उहाँ मङ्गलबार बैंकक जानुभएको थियो ।
सम्मेलनमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेका शृङ्खलाबद्ध जलवायुजन्य विपद्, त्यसबाट भएको अपूरणीय क्षति र हिमाली क्षेत्रको उत्थानशीलताका लागि आवश्यक अन्तरराष्ट्रिय सहकार्यबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले हिमनदी, हिमताल, अस्थिर पहाडी भूभाग र नदी प्रणालीको नियमित अनुगमनका लागि भूउपग्रह, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
साथै, विपद्को समयमै पूर्वानुमान गरी समुदायसम्म सूचना पुर्याउन बहुप्रकोपी पूर्वसूचना प्रणाली विकासका लागि प्राविधिक सहकार्य, संयुक्त अनुसन्धान र राष्ट्रिय क्षमता अभिवृद्धि आवश्यक रहेको उहाँले बताउनुभएको थियो ।
यसैगरी, ‘सगरमाथादेखि समुद्रसम्मः एसिया तथा प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद्प्रतिको उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट सिकिएका पाठ’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादमा उहाँले विपद् अनुगमन, पूर्वतयारी, अनुकूलन तथा हानि–नोक्सानी सम्बोधनका लागि समयमै उपलब्ध हुने, अनुमानयोग्य, सहज पहुँचयुक्त र अनुदानमा आधारित वित्तीय सहयोग आवश्यक रहेको औँल्याउनुभएको थियो ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, नेपाली राजदूतावास र नेपाल सरकारको संयुक्त आयोजनामा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक सङ्गोष्ठीमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित बस्ती, उत्थानशील पूर्वाधार, सुरक्षित जलविद्युत् आयोजना र दिगो जीविकोपार्जनसहितको नमुना हिमाली विकासका रूपमा अघि बढाउने नेपालको सोच रहेको बताउनुभएको थियो ।
बैंककमा रहँदा मन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा यूएन–ईएससीएपीका कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिस्याहबाना, थाइल्याण्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री योड्चनन वोङ्सावात, भुटानका परराष्ट्रमन्त्री दिना नाथ ढुङ्ग्याल र श्रीलङ्काका स्वास्थ्य तथा आमसञ्चारमन्त्री डा नलिन्दा जयतिस्सासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । भेटमा जलवायु उत्थानशीलता र प्रविधि हस्तान्तरणका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तरराष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अङ्किता शाह सहभागी हुनुहुन्थ्यो

