Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार |

काठमाडौँ, २ कात्तिकः दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

    बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताउनुभयो ।

    दसैँमा खानपान गर्दा अपनाउनुपर्ने सावधानी, चिल्लो तथा बोसोयुक्त मासुले घाँटीको स्वास्थ्यमा पार्ने असर र घाँटीमा मासु वा हड्डी अड्किएमा गर्नुपर्ने उपायबारे समाचारदाता प्रगति ढकालले डा गुप्तासँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

प्रश्नः    दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुरा बढी खाने चलन छ । यसले घाँटीको स्वास्थ्यमा कस्तो असर पार्छ ?

    उत्तरः यस्ता खानेकुरा बढी खाँदा घाँटीमा जलन र असहजता हुन सक्छ । पेटको अम्ल घाँटीसम्म फर्किने एसिड रिफ्लक्सका कारण घाँटी र छाती पोल्ने तथा घाँटीमा केही अड्किएजस्तो वा खसखस हुने महसुस हुन सक्छ । त्यसैले खानाको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्छ ।

प्रश्नः    घाँटीमा एलर्जी हुने वा रुघाखोकी लागेर घाँटी दुख्ने व्यक्तिले दसैँमा चिल्लो र बोसोयुक्त मासु खान मिल्छ कि मिल्दैन ?

    उत्तरः    घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुन्छ । यस्ता खानेकुराले केही व्यक्तिमा रिफ्लक्स बढाउन सक्छन् । यस्तो अवस्थामा आफूलाई सहज हुने, पचाउन सजिलो खानेकुरा खानु र पर्याप्त पानी पिउनु राम्रो हुन्छ ।

प्रश्नः    दसैँमा मासु खाँदा मासुको टुक्रा वा हड्डी घाँटीमा अड्कियो भने कस्तो समस्या हुन सक्छ ?

    उत्तरः मासु वा हड्डी अड्किँदा निल्न गाह्रो हुने, घाँटीमा दुखाइ हुने र थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न गाह्रो हुन सक्छ, जुन ज्यानै जोखिममा पार्ने अवस्था हो । हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकको सहायता लिनुपर्छ ।

प्रश्नः मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने र के गर्नु हुँदैन ?

    उत्तरः    अड्किएको वस्तु निकाल्न औँला घाँटीभित्र हाल्नु हुँदैन । भात, रोटी वा अन्य खानेकुरा निलेर त्यसलाई तल धकेल्ने प्रयास गर्दा चोट लाग्न सक्छ । निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था भएमा तुरुन्त अस्पताल जानुपर्छ । यदि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था आएमा श्वासनलीमा अवरोध हुन सक्ने भएकाले तत्काल आपत्कालीन सहायताका लागि अस्पताल जानुपर्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan