Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठगीको आशङ्कामा तीन युवक पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
newsabhiyan

अरूका नामका चार चेकबुक पनि फेला, सिमकार्डको स्रोत नखुलेपछि प्रहरी अनुसन्धानमा

मकवानपुर । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशङ्कामा मकवानपुर प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ। उनीहरू बस्दै आएको कोठाबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, ४३ थान सिमकार्ड र चार थान चेकबुक बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा डेरा गरी बस्दै आएका व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको भन्ने विशेष सूचनाका आधारमा बिहीबार कानुनबमोजिम खानतलासी गरेको थियो।

खानतलासीका क्रममा रौतहटको कटहरिया नगरपालिका–८ का अन्दाजी १९ वर्षीय अजय कुमार यादव र पवन कुमार दास तथा बौधिमाई नगरपालिका–६ का अन्दाजी २१ वर्षीय रोशन राय यादव पक्राउ परेका हुन्।
प्रहरीका अनुसार बरामद सिमकार्डमध्ये एनसेलका प्रयोग भइसकेका २२ थान र सिलप्याक अवस्थामा रहेका २१ थान छन्। साथै, अन्य व्यक्तिका नाममा रहेका चार थान चेकबुकसमेत फेला परेका छन्।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले सिमकार्डको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ। विभिन्न व्यक्तिका नागरिकता प्रतिलिपि, सिमकार्ड र चेकबुक एकै ठाउँमा फेला परेपछि ती सामग्री के प्रयोजनका लागि राखिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

बरामद सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। घटनामा अन्य व्यक्ति संलग्न भए–नभएको तथा बरामद सामग्रीको सम्भावित दुरुपयोगबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan