प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
विराटनगर, २३ असोजः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८२/८३ को नवौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रदेश प्रमुख खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले आज प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
त्यसअवसरमा प्रदेश प्रमुख खापुङले न्यायाधिवक्ताको कार्यालयलले लोकतन्त्रको सुदृढीकरण र कानुनी शासन लागू गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
उहाँले न्यायाधिवक्ताको कार्यालयलले प्रदेशमा कानुन निमार्णमा दिएको सुझाव एवं सल्लाह महत्वपूर्ण रहेको धारणा राख्नुभयो । प्रदेश प्रमुख खापुङले समुदाय र विद्यार्थीलाई कानुनी साक्षरता प्रदान गरेको कार्यको प्रशंसा गर्दै कारागार र प्रहरी हिरासतको अनुगमन गरी सुधारका लागि दिएको सुझाव कार्यान्वयन हुने विश्वास जनाउनुभयो ।
त्यसअवसरमा मुख्य न्यायाधिवक्ता वस्तीले प्रदेशमा कानुनी शासनको बलियो उपस्थिति रहेको जनाउँदै आर्थिक वर्ष २०८२/८३ मा ६२ प्रतिशत मुद्दा फछ्र्योट भएको जानकारी दिनुभयो ।
