Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागमती प्रदेशस्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस)

काठमाडौँ, २० असोजः आवाजविहीन नागरिकका लागि न्यायिक आवाज बन्दै न्यायिक समितिलाई अदालतको परिपूरक संरचनाका रूपमा विकास गरिनेसहित १५ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेशस्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न भएको छ । 

    स्थानीय तहमा न्यायिक अभ्यासलाई सुदृढ बनाउँदै नागरिकको न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणापत्रमा समान र निष्पक्ष न्याय, जात, धर्म, लिङ्ग, भाषा, क्षेत्र, आर्थिक र सामाजिक अवस्थाका आधारमा भेदभाव नगरिने, संस्थागत सुदृढीकरण, कानुनी, प्रशासनिक, प्राविधिक र स्रोतगत व्यवस्था गरी न्यायिक समितिको संस्थागत प्रबलीकरण गरिने घोषणापत्रमा उल्लेख छ । 

    त्सस्तै, प्राकृतिक न्याय र पारदर्शिता, निष्पक्षता, स्वच्छ सुनुवाइ र कारणसहितको निर्णय प्रणाली लागु गरिने, वडा तहमा मेलमिलाप केन्द्र, मेलमिलापकर्ताको क्षमता अभिवृद्धि र वडा तहका केन्द्रको प्रभावकारी सञ्चालन गरिने, कार्यविधिमा एकरूपता प्रक्रियागत अस्पष्टता हटाई न्यायिक प्रक्रियालाई सरल र सुगम बनाइने घोषणापत्रमा उल्लेख छ ।  

    साथै, असल अभ्यासको आदानप्रदान, सफल अनुभव र असल अभ्यास संस्थागत रूपमा साटासाट गरिने, दरबन्दी र बजेट व्यवस्थापन, कानुन अधिकृत तथा न्यायिक सहजकर्ताको दरबन्दी सिर्जना र वित्तीय स्रोत प्रबन्ध गरिने, टोलटोलमा न्यायिक सचेतना, जनस्तरका विवाद समाधानका लागि ‘टोलटोलमा न्यायिक समिति’ र मेलमिलाप अभियान सञ्चालन गरिने, प्रदेशस्तरीय न्यायिक सञ्जालस् सङ्घ, प्रदेश र अदालतसँगको समन्वयका लागि बागमती प्रदेशस्तरीय न्यायिक समिति सञ्जाल गठन गरिनेलगायत कुरा घोषणापत्रमा समेटिएको छ । 

    ‘न्यायिक समिति न्यायमा पहुँच, विश्वास र निष्पक्ष अभ्यास’ नाराका साथ आयोजना गरिएको उक्त सम्मेलनमा बागमती प्रदेशका स्थानीय तहका न्यायिक समितिका संयोजक तथा प्रतिनिधिको सहभागिता रहेको सम्मेलनकी संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले बताउनुभयो । सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गर्नुभएको थियोे । उहाँले स्थानीय तहको न्यायिक बहसलाई परम्परागत विवाद समाधानमा मात्र सीमित नराखी जलवायु न्यायसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव स्थानीय समुदायले भोगिरहेका छन्, त्यसैले स्थानीय सरकारले जलवायु न्यायलाई आफ्ना नीति तथा कार्यसम्पादनसँग जोडेर अघि बढाउनु आवश्यक छ ।” वरिष्ठतम् न्यायाधीश मल्लले संविधानको धारा २१७ ले सुम्पिएको जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय निकायलाई आग्रह गर्नुभयो । सम्मेलन संयोजक तथा उपप्रमुख अनिता लामाले न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाउन स्थानीय तहबीच अनुभव आदानप्रदान र अन्तरपालिका सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan