सीए सुनिल शर्मालाई ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान–२०८३’
भरतपुर, १२ असोज । युवा पुस्तामाझ सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा योगदान पुर्याएको भन्दै चार्टर्ड अकाउन्टेन्ट (सीए) सुनिल शर्मा सम्मानित भएका छन्।
योङ्ग–नेपाल, भरतपुर–१३ ले आफ्नो ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा सोमबार शर्मालाई ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान–२०८३’ बाट सम्मान गरेको हो।
युवा पुस्तालाई सकारात्मक सोच, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्न शर्माले आफ्नो पेसा तथा व्यवहारमार्फत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको योङ्ग–नेपालका संस्थापक अध्यक्ष विवेक पोख्रेलले जानकारी दिए।
भरतपुर महानगरपालिका–१३, ब्रह्मपुरी निवासी शर्मा लेखापरीक्षण तथा वित्तीय क्षेत्रसँगै शैक्षिक र सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएका शर्माले युवापुस्तालाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्दै आएको आयोजक संस्थाले जनाएको छ।
युवा पुस्तामा सकारात्मक योगदान पुर्याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान’ स्थापना गरिएको हो।
स्वर्गीय जयन्त आचार्य योङ्ग–नेपालका संस्थापक सदस्य थिए। संस्थाले प्रत्येक वर्ष युवाको क्षमता विकास, सामाजिक उत्तरदायित्व र नेतृत्व निर्माणमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको जनाएको छ।
सम्मानपछि सीए शर्माले युवाको ऊर्जा र क्षमतालाई सकारात्मक काममा प्रयोग गर्न सके समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे। उनले आफूलाई प्रदान गरिएको सम्मानलाई आगामी दिनमा सामाजिक तथा युवा क्षेत्रमा थप सक्रिय भएर काम गर्ने प्रेरणाका रूपमा लिएको बताए।
यसैबीच, योङ्ग–नेपालको ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनले रेश्म तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्दिपा अधिकारी, सचिवमा अश्विन धिताल र कोषाध्यक्षमा निशा न्यौपाने चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा संकल्प दवाडी, दर्पण अधिकारी, भावना सापकोटा र एन्जल ढुंगना चयन भएका छन्। नयाँ नेतृत्वले संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै युवा सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।
योङ्ग–नेपालले युवाको क्षमता, नेतृत्व र सामाजिक सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आगामी दिनमा समेत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
मलाई
