Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |

काठमाडौँ, ४ असोजः रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो । उहाँका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेपछि सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो ।

प्रहरीका अनुसार प्रत्येक शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमूना सङ्कलन गरी शवलाई सुरक्षितरुपमा गाड्ने गरिएको छ । भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ । ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ ।

बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डिएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको हो । पहिचान हुन बाँकी शवको डिएनए नमूना सुरक्षित राखी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan