साइबर अपराधको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
काठमाडौं, ४ असोज । राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाल साइबर अपराधको आरोपमा मोरङबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई आइतबार बिहान मोरङबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको साइबर ब्युरो, काठमाडौंको पत्रका आधारमा जारी पक्राउ पुर्जीअनुसार उनलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए।
प्रहरीका अनुसार दाहालमाथि सामाजिक सञ्जालमार्फत विद्युतीय (साइबर) अपराध तथा भ्रामक सूचना फैलाएको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको हो।
पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि आइतबार नै काठमाडौंस्थित साइबर ब्युरोमा पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ।
