Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २७ शनिबार | रासस

 

भोजपुर, २७ भदौः भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो ।

 

अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी रु १५० देखि रु २०० सम्ममा खुर्सानी बिक्री गर्दै आएका छन् ।

 

पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्याङका स्थानीय किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्याङ सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० केजीसम्म खुर्सानी बाह्य जिल्लाका बजारमा पठाउने गरिएको छ । सडक सुविधाका कारण व्यापारी खुर्सानी खरिद गर्न सोझै किसानका खेतबारी र स्थानीय सङ्कलन केन्द्रसम्म पुग्ने गरेका छन् । 

 

तिवारीले विगत पाँच वर्ष अघिदेखि खुर्सानी खेतीसँगै अन्य किसानले उत्पादन गरेको खुर्सानी सङ्कलन गरेर बाहिर पठाउँदै आएको बताउनुभयो । “स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु” उहाँले भन्नुभयो, “तिवारीभञ्याङबाट मात्र दैनिक ४०० केजीसम्म खुर्सानी शहरी क्षेत्रमा गइरहेको छ ।”

 

उत्पादन भएको खुर्सानी बिक्री गर्न र बजारीकरणका लागि हाल कुनै समस्या नरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान कमला थापाले बताउनुभयो । भोजपुरको पहाडी हावापानीमा उत्पादन भएको अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाहिरी जिल्लामा माग उच्च रहेको उहाँको भनाइ छ । 

 

जिल्लामा यस वर्ष करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । यो वर्षको खुर्सानी अझै बिक्री भइरहेकाले कुल कति उत्पादन भयो भन्ने अन्तिम तथ्याङ्क आउन बाँकी रहेको उहाँको भनाइ छ ।

 

गत आर्थिक वर्षमा भने जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा करिब रु २३ करोड भित्रिएको तथ्याङ्क रहेको प्रमुख यादवले जानकारी दिनुभयो । “अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” प्रमुख यादवले भन्नुभयो, “धेरै किसान खुर्सानीको व्यावसायिक खेतीमा आबद्ध रहेका छन् । यहाँको खुर्सानी बाह्य जिल्लामा ठूलो परिमाणमा निर्यात हुँदै आएको छ ।”

 

स्थानीय तहले पनि खुर्सानीको खेतीको लागि किसानलाई अनुदान सहयोग गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको खुर्सानीको शहरका बजारमा राम्रो माग रहेको किसानको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan