भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौँ, ११ भदौः भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार ४१५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार ३१८, नेपाली सेनाका दुई हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार ७४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म २३९ वटा हेलिकप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नेपाली सेनामार्फत २११ वटा र निजी क्षेत्रका हेलिकप्टरबाट २८ जनाको उद्धार भएको छ ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । बुधबार ८ः४० बजे नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम तथा शङ्कटपूर्ण अवस्था सिर्जना भएको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ ।
