Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसौँ राष्ट्रिय खेलकुदः पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |

बाँके ११ मङ्सिरः दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा भएको २३औँ पौडी प्रतियोगितामा आज बागमती प्रदेशको टिम च्याम्पियन बन्न सफल भएको छ । बागमतीले १६ स्वर्ण, नौ रजत र १० कास्यसहित ‘मेडल ट्याली’ मा आफूलाई अग्रस्थानमा राख्न सफल भएको हो ।

    दोस्रो स्थानमा रहेको एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य हात पार्‍यो । सात स्वर्ण, १५ रजत र १७ कास्यसहित आर्मी तेस्रो, छ स्वर्ण १४ रजत र १६ कास्यसहित पुलिस चौथो, तीन स्वर्णसहित कोशी प्रदेश पाँचौँ र दुई स्वर्ण, चार रजत र एक कास्यसहित सुदूरपश्चिम छैटौँ स्थानमा रह्यो ।

    एकै विधामा चार खेलाडीद्वारा कीर्तिमान भङ्ग

    नेपालगन्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना भएको चौथो दिनको स्पर्धाको २०० मिटर बटरफ्लाइमा अशिम भण्डारीले हिट चरणमा राखेको दुई मिनेट २१.८७ सेकेन्ड समयको कीर्तिमानलाई चार खेलाडीले भङ्ग गरेको हुन् । उक्त कीर्तिमानलाई भङ्ग गरी दूरी पूरा गर्ने क्रममा सुदूरपश्चिमका अथर्व सिंहले दुई मिनेट १८.३० सेकेन्ड, आर्मीका सौर्यनबहादुर सिंहले दुई मिनेट १९.८१ सेकेन्ड, आर्मीकै अशिम भण्डारीले दुई मिनेट २०.११ सेकेन्ड र पुलिसका मायोन श्रेष्ठले दुई मिनेट २०.६२ सेकेन्डका समय निकाले । पुरानो कीर्तिमान सौरेनबहादुर सिंहको नाममा रहेको थियो । उनले २०२६ मा काठमाडौँमा भएको तेस्रो एक्वाटिक्स च्याम्पियनसिपमा दुई मिनेट २६.८४ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।

    महिला २०० मिटर बटरफ्लाइमा एनआरएनकी लिली बोहराले दुई मिनेट ३३.२० सेकेन्ड समयको कीर्तिमान राखिन् । उनले डुवाना लामाले हिट चरणमा देवाशी जोशीले काठमाडौँमा भएको तेस्रो एक्वाटिक्स च्याम्पियनसिप २०२६ मा राखेको दुई मिनट ४८.३० सेकेन्ड समयलाई विस्थापित गर्दै राखेको दुई मिनेट ३५.२९ सेकेन्ड समयको नयाँ कीर्तिमानलाई भङ्ग गरेकी हुन् । आर्मीकी डुवाना लामाले रजत र पुलिसकी देवांशी जोशीले कास्य जिते ।

    यस्तै नयाँ किर्तिमान राख्ने क्रममा ८०० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका कल्किन श्रेष्ठले कीर्तिमान कायम गरे । उनले उक्त दूरी नौ मिनेट ३.२१ सेकेन्ड समयमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । यसअघिको कीर्तिमान कल्किनकै नाममा नौ मिनट १२.६२ सेकेन्ड समयको थियो । उनले भारतको अहमदावादमा आयोजना भएको ११औँ एसियन एक्वाटिक्स च्याम्पियनसिपमा राखेका थिए ।  सुदूरपश्चिमका अथर्व सिंहले रजत हात पार्दा नेपाल पुलिसका रचित बुढाथोकीले कास्य हात पारे ।

    कीर्तिमान राख्ने क्रममै महिला चार गुणा १०० मिटर फ्रिस्टायलमा बागमती प्रदेशले सोफिया शाह, सोनिरा विष्ट, श्रीतिका सिंह र गौरिका सिंहले गुहाटीमा आयोजना भएको १२औँ सागमा राखेको चार मिनेट ३२.१७ सेकेन्डको समयलाई भङ्ग गर्दै रोयल प्रजापति, प्राज्ना ताम्राकार, आयरा श्रेष्ठ र आर्या महर्जन (सिनियर) रहेको बागमतीले चार मिनेट २८.८६ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान बनाए । पुरानो कीर्तिमानलाई आर्मीका सिशम्बुन राई, रैजी अवाले, लुना श्रेष्ठ र डुवाना लामाको टिमले पनि चार मिनेट ३१.०६ सेकेन्ड समयका साथ भङ्ग गरे तापनि उक्त समय स्वर्ण प्राप्त गर्न सक्षम नभई रजतमा खुम्चिन पुग्यो । नेपाल पुलिसले कास्यमा चित्त बुझायो ।

    महिलाको ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले चार मिनेट ४३.११ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा आर्मीकी डुवाना लामाले रजत र एनआरएनकी मिखा काया थापाले कास्य जिते ।

    पुरुष २०० मिटर व्यक्तिगत मिड्लेतर्फ बागमतीका अभिभ प्रधानले स्वर्ण जिते । उनले उक्त दूरी दुई मिनेट २२.४३ सेकेन्ड समयका साथ पूरा गरेका हुन् । दोस्रो स्थानमा नेपाल पुलिसका इरभिन श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकै कल्किन श्रेष्ठ रहे ।

    महिलाको १०० मिटर ब्रेष्ट स्ट्रोकमा आर्मीकी डुवाना लामाले एक मिनेट १९.९२ सेकेन्ड समयका साथ स्वर्ण हात पारिन् । एनआरएनकी लिली बोहराले रजत र बागमतीकी रोयल प्रजापतिले कास्य हात पारे । यसै विधाको पुरुषतर्फ कोशी प्रदेशका विकास कुमालले स्वर्ण जिते । उनले उक्त दूरी एक मिनट ८.२५ सेकेन्डमा पूरा गरे । आर्मीका जाडेन श्रेष्ठले रजत र बागमतीका एरिक कर्माचार्यले कास्य प्राप्त गरे ।

    महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । बागमतीका आर्या महर्जन (सिनियर) र रोयल प्रजापतिले क्रमशः रजत र कास्य पाए । पुरुषतर्फ नेपाल पुलिसका इरभिन श्रेष्ठले २४.६२ सेकेन्ड समयमा दूरी पूरा गर्दै स्वर्ण जिते । बागमतीका अभिभ प्रधानले रजत र आर्मीका अल्भिन महर्जनले कास्य पाए । पुरुष चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले स्वर्ण, पुलिसले रजत र आर्मीले कास्य पायो ।

    महिलाको चार गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण, नेपाल पुलिसले रजत र आर्मीले कास्य पाए । ४६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा पुरुषतर्फ बागमतीका अभिभ प्रधानले व्यक्तिगतमा सात र रिलेमा चार स्वर्ण गरी ११ स्वर्ण, व्यक्तिगतमा एक रजत र रिलेमा तीन रजत गरी चार रजत प्राप्त गरे भने महिलातर्फ एनआरएनकी लिली बोहराले व्यक्तिगततर्फ सात स्वर्ण तीन रजत र एक कास्य जितिन् । सो पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालामा सुरु भएको थियो ।  सात प्रदेश, विभागीय टोली र एनआरएनएसहित ११ टोलीका करिब २०० खेलाडीले सो प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan