कांग्रेसको आत्मा, इतिहासको आँसु र नेतृत्वको अग्निपरीक्षा
काठमाडौं । स्वर्गमा विराजमान नेपाली कांग्रेसका महान् नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले आजको कांग्रेसलाई हेरिरहनुभएको भए के भन्नुहुन्थ्यो होला? यो प्रश्नको उत्तर खोज्न सभापति गगन थापाले एकपटक आफ्नै मनको गहिराइमा पुगेर विचार गर्न आवश्यक छ।
कांग्रेस केवल एउटा राजनीतिक दल होइन। यो नेपाली जनताको त्याग, तपस्या, संघर्ष, बलिदान र लोकतान्त्रिक सपनाको जीवित इतिहास हो।
यसका लागि कति आमाहरूले आफ्ना छोराहरू गुमाए, कति बाबुहरूले परिवारको सुख त्यागे, कति श्रीमतीहरूले वर्षौँसम्म श्रीमान्को बाटो हेर्दै आँसु पिए। कति युवाहरूले आफ्नो जवानी जेलका अँध्यारा कोठामा बिताए, कति निष्ठावान कार्यकर्ताहरूले आफ्नो घरजग्गा बेचेर पार्टीको जग बसाले।
ती कार्यकर्ताहरूको अनुहार सम्झनुहोस्—थोत्रा लुगा, फाटेका जुत्ता, च्यात्तिएको टोपी र शरीरमा एकसरो कपडा। तर उनीहरूको छातीभित्र कांग्रेसप्रतिको आस्था कहिल्यै फाटेन।
उनीहरूसँग महल थिएन, गाडी थिएन, बैंकमा करोडौँ रुपैयाँ थिएन; थियो त केवल एउटा सपना—कांग्रेस बलियो होस्, देशमा लोकतन्त्र जीवित रहोस् र आफ्ना सन्तानले सम्मानपूर्वक बाँच्न पाऊन्।
आज त्यही कांग्रेसका लागि आफ्नो सर्वस्व गुमाएका कार्यकर्ताहरूको अवस्था सम्झिँदा मन भक्कानिन्छ। कसैको घर भत्किएको छ, कसैका भित्तामा गहिरा चिरा परेका छन्, कसैको खुइलिएको टिनमुनि वर्षाको पानी चुहिन्छ। रातभरि ओछ्यान भिज्छ, चिसोले शरीर काँप्छ, तर बिहान उज्यालो हुनासाथ उनीहरू फेरि कांग्रेसको झण्डा बोकेर हिँड्छन्।
आफ्नो दुःख कसैलाई सुनाउँदैनन्, किनकि उनीहरूलाई अझै विश्वास छ—एक दिन कांग्रेसले आफ्ना निष्ठावान कार्यकर्तालाई सम्झनेछ।
तर अर्कोतर्फ, पार्टी र सत्ताको निकटताबाट लाभ उठाउने केही स्वार्थसमूहहरू फुडल्याण्ड, पार्टी प्यालेस, नयाँ दिल्लीका आलिसान होटल र व्यापारिक लगानीका चर्चामा देखिन्छन्।
व्यापारीलाई ३६ प्रतिशत ब्याजमा पैसा लगानी गर्ने, घुमफिरको बहानामा कहिले सिंगापुर त कहिले बैंकक पुग्नेहरूको जीवनशैली र त्यही पार्टीका लागि घरजग्गा बेच्ने कार्यकर्ताको अभावबीचको दूरी देख्दा कांग्रेसको आत्मामाथि नै प्रश्न उठ्छ।
कांग्रेसका लागि घर बेच्नेहरू आज चुहिने छानोमुनि छन्; कांग्रेसको नामबाट लाभ उठाउनेहरू आलिसान महलमा छन्—यो दृश्यले कांग्रेसको आत्मालाई नै रुवाउँदैन र?
गगन थापा, तपाईंले नेतृत्वको जिम्मेवारी सम्हालिरहँदा एकपटक ती पुराना कार्यकर्ताको घर पुग्नुहोस्। उनीहरूको चिरिएको भित्ता छुनुहोस्। चुहिएको छानोमुनि केही क्षण बस्नुहोस्।
उनीहरूले वर्षौँदेखि सँगालेर राखेको पुरानो कांग्रेसको झण्डा हेर्नुहोस्। त्यो झण्डा सायद फाटिसकेको होला, रंग उडिसकेको होला, तर त्यसमा मिसिएको त्याग र निष्ठा आजका कुनै पनि आलिसान कार्यालयभन्दा अमूल्य छ।
कांग्रेसभित्रको विवादलाई निषेध, राजीनामा र विभाजनको भाषाले समाधान गर्न खोज्दा पार्टीको इतिहास बोकेका ती कार्यकर्ताको मन कति दुख्छ भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ।
आज कसैलाई बाहिर धकेल्ने निर्णय गर्दा भोलि आफ्नै राजनीतिक भविष्य पनि अनिश्चित हुन सक्छ।
पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कुनै दिन तपाईंलाई राजनीतिक चुनौती दिनुभयो वा नेतृत्वबाट अलग्याउने परिस्थिति आयो भने त्यसलाई पनि राजनीतिक जीवनको एउटा अध्यायका रूपमा बुझ्नुपर्ने हुन्छ।
पद कसैको स्थायी सम्पत्ति होइन; जनविश्वास र संस्थागत मर्यादा नै नेतृत्वको वास्तविक शक्ति हो।
महाभारतको चेतावनी : अहंकारले आफ्नै कुल नष्ट गर्छ
महाभारतमा कुरुक्षेत्रको युद्ध केवल पाण्डव र कौरवबीचको युद्ध थिएन; त्यो अहंकार, अन्याय, सत्ता-मोह र विवेकहीन निर्णयको परिणाम थियो।
दुर्योधनले पाँच गाउँ दिनसमेत अस्वीकार गर्दा युद्धको बीउ रोपियो। भीष्म, द्रोण, कर्णजस्ता महान् योद्धाहरू उपस्थित हुँदाहुँदै पनि हस्तिनापुरको विनाश रोकिएन, किनकि दरबारमा विवेकभन्दा अहंकार ठूलो भएको थियो।
आज कांग्रेसभित्र पनि असहमतिको आवाजलाई शत्रुको आवाज ठान्ने, संवादको ढोका बन्द गर्ने र आफ्नै सहयात्रीलाई पराजित गर्नुलाई विजय मान्ने प्रवृत्ति बढ्यो भने इतिहासले फेरि त्यही प्रश्न सोध्नेछ—कांग्रेसको कुरुक्षेत्र कसले निर्माण गर्योअ, र त्यसमा विजय पाएर पनि अन्ततः कसले के गुमायो?
महाभारतको अन्त्यमा युद्ध जित्नेहरू पनि आफ्ना प्रियजनको वियोगमा रोए। विजयको मुकुट शोकको आँसुले भिजेको थियो। त्यसैले नेतृत्वले बुझ्नुपर्छ—पार्टीभित्रको युद्धमा कसैले जिते पनि कांग्रेस हार्न सक्छ।
रामायणको सन्देश : मर्यादा र त्याग नै नेतृत्वको आभूषण
रामायणले हामीलाई सिकाउँछ—राज्य, पद र शक्ति प्राप्त गर्नु मात्र महानता होइन; मर्यादा, त्याग र कर्तव्यप्रति निष्ठा नै महानताको वास्तविक परिचय हो।
भगवान् रामले राजसिंहासनको अवसर हुँदाहुँदै पनि मर्यादाका लागि वनवास स्वीकार गर्नुभयो। भरतले राज्य प्राप्त गर्न सक्ने अवस्था हुँदाहुँदै पनि दाजुको अधिकारलाई सम्मान गर्दै सिंहासनमा पादुका राखेर शासन चलाउनुभयो।
आज कांग्रेसको नेतृत्वले पनि यही मर्यादाको पाठ सिक्नुपर्छ। पदमा रहनु ठूलो कुरा होइन; पदमा रहँदा संस्थाको आत्मा जोगाउनु ठूलो कुरा हो। नेतृत्वले कहिलेकाहीँ आफ्नो अहंकार त्यागेर सहयात्रीलाई स्थान दिनुपर्छ, संवादका लागि झुक्नुपर्छ र पार्टीको एकताका लागि व्यक्तिगत विजयको मोह छोड्नुपर्छ।
रामायणको मर्यादा र महाभारतको विवेक कांग्रेसको नेतृत्वमा जीवित रहन सके मात्र इतिहासको सम्मान हुनेछ।
श्रीस्वस्थानीको प्रसंग : त्याग, तपस्या र आस्थाको परीक्षा
श्रीस्वस्थानी व्रतकथामा गोमा ब्राह्मणीको जीवनले दुःख, अभाव, परीक्षा र अटुट आस्थाको कथा सुनाउँछ। कठिन परिस्थितिमा पनि उनले धैर्य र विश्वास छोडिनन्। उनका जीवनका पीडाले हामीलाई सम्झाउँछन्—आस्था केवल सुखका दिनमा देखिने वस्तु होइन; दुःख र संकटमा पनि टिकिरहने साहस हो।
कांग्रेसका ती निष्ठावान कार्यकर्ताहरू पनि गोमा ब्राह्मणीझैँ अनेकौँ परीक्षाबाट गुज्रिएका छन्। उनीहरूले अभावमा पनि पार्टीप्रतिको विश्वास छोडेनन्।
आफ्ना घरका छाना चुहिँदा पनि कांग्रेसको झण्डा ओसिलो हुन दिएनन्। परिवारको पेट पाल्न कठिन हुँदा पनि पार्टीको आन्दोलनमा सहभागी भए। उनीहरूको तपस्या कुनै पदको आशामा थिएन; त्यो लोकतन्त्र र देशप्रतिको आस्थाको तपस्या थियो।
आज नेतृत्वले ती कार्यकर्ताको तपस्या बिर्सियो भने त्यो केवल राजनीतिक भूल हुनेछैन, इतिहासप्रतिको अन्याय हुनेछ।
कांग्रेस विभाजन भयो भने त्यसको पीडा पार्टीमा मात्र सीमित रहनेछैन
गगन थापा, एउटा कुरा गम्भीरतापूर्वक मनन गर्नुहोस्—यदि नेपाली कांग्रेस साँच्चिकै विभाजनको बाटोमा गयो भने त्यसको असर केवल एउटा राजनीतिक दलमा सीमित रहने छैन।
कांग्रेसको ऐतिहासिक भूमिका, लोकतान्त्रिक आन्दोलनमा रहेको योगदान र राष्ट्रिय राजनीतिमा यसको संस्थागत उपस्थितिलाई कमजोर पार्दा राष्ट्र नै अस्थिरता र विघटनको दिशातर्फ धकेलिन सक्छ।
राजनीतिक नेतृत्वले आज लिएको निर्णयको मूल्य भोलि देशले चुकाउनुपर्ने अवस्था नआओस्। पार्टीभित्रको असहमति संवादबाट समाधान गर्न सकिन्छ, तर विभाजनले जन्माउने घाउ पुस्तौँसम्म निको नहुन सक्छ।
यस्तो परिस्थितिको निर्माण भयो भने आज शक्तिको केन्द्रमा रहेका तपाईंहरू नै भोलि त्यसको परिणामबाट सुरक्षित रहनुहुनेछ भन्ने कुनै ग्यारेन्टी छैन।
राजनीतिक परिस्थिति यति भयावह बन्न सक्छ कि एक दिन यही देशको माटो, यही जनताको विश्वास र यही राजनीतिक वातावरणबाट टाढा जानुपर्ने अवस्था समेत सिर्जना हुन सक्छ।
त्यसैले समयमै विचार गर्नुहोस्। इतिहासको विरासतलाई व्यक्तिगत अहंकारको भारले नथिच्नुहोस्। कांग्रेसलाई बचाउनुहोस्, लोकतान्त्रिक मूल्यलाई बचाउनुहोस् र राष्ट्रलाई विभाजन तथा अस्थिरताको दिशामा जानबाट रोक्नुहोस्।
इतिहासको कठघरामा उभिनुअघि
बीपी कोइरालाले कांग्रेसलाई विचार दिनुभयो। सुवर्ण शमशेरले संघर्षको आधार दिनुभयो। गणेशमान सिंहले त्यागको उदाहरण दिनुभयो। कृष्णप्रसाद भट्टराईले सादगी र नैतिकताको पाठ दिनुभयो।
गिरिजाप्रसाद कोइरालाले कठिन राजनीतिक यात्रामा संगठनलाई अघि बढाउनुभयो। उनीहरूको विरासत कुनै एक व्यक्तिको अहंकारमा सीमित हुन सक्दैन।
नेतृत्व आउँछ, जान्छ। पद प्राप्त हुन्छ, गुम्छ। सत्ता हातमा आउँछ, फेरि खोसिन्छ। तर कांग्रेसका लागि आफ्नो घरजग्गा बेच्ने, फाटेको जुत्ता लगाएर आन्दोलनमा हिँड्ने र चुहिने छानोमुनि रात बिताउने कार्यकर्ताको आँसु इतिहासले कहिल्यै बिर्सने छैन।
गगन थापा, कांग्रेसलाई बचाउनु छ भने पहिले कांग्रेसका निष्ठावान कार्यकर्ताको विश्वास बचाउनुहोस्। उनीहरूको घरमा उज्यालो पुर्यालउनुहोस्। उनीहरूको पीडामा साथ दिनुहोस्। उनीहरूको त्यागलाई सम्मान गर्नुहोस्।
कांग्रेसको वास्तविक शक्ति सत्ताका गल्लीमा होइन, ती भत्किएका घरहरूमा छ। कांग्रेसको वास्तविक इतिहास आलिसान होटलका कोठामा होइन, वर्षाको पानी चुहिने टिनमुनि छ।
कांग्रेसको वास्तविक भविष्य कुनै नेताको व्यक्तिगत विजयमा होइन, हजारौँ निष्ठावान कार्यकर्ताको आँखामा बाँकी रहेको आशामा छ।
यदि ती कार्यकर्ताको आँखाबाट आशा हरायो भने कांग्रेसको झण्डा त रहला, तर त्यसलाई उठाउने आत्मा हराउनेछ।
त्यस दिन कांग्रेसको इतिहासका पानाहरू मात्र होइन, बीपी, सुवर्ण शमशेर, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले देखेको सपनासमेत मौन भएर रोइरहनेछ।
कृपया, कांग्रेसलाई विभाजनको आँधीबाट बचाउनुहोस्। पदको अहंकारभन्दा कार्यकर्ताको आँसु ठूलो सम्झनुहोस्। इतिहासले तपाईंलाई सभापति भनेर मात्र होइन, टुटेका मनहरू जोड्न सक्ने नेता भनेर सम्झियोस्।
कांग्रेसका लागि जीवन समर्पण गरेका ती निष्ठावान कार्यकर्ताको घरमा एक दिन हाँसो फर्कियोस्—त्यही दिन कांग्रेस साँच्चिकै जीवित भएको अनुभूति हुनेछ।
कांग्रेसको इतिहास बचाउनुहोस्, कार्यकर्ताको आँसु पुछ्नुहोस्, र राष्ट्रलाई विभाजनको अँध्यारोबाट जोगाउनुहोस्।
