Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री बालेन दिल्लीमा, एजेन्डामै परेन सीमा विवादको विषय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
newsabhiyan

काठमाडौं, ७ मंसिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

उनको बसाइ ताज होटलमा हुने तय भएको छ । आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ । भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन् ।

बालेन र मोदीबीच यी १० बुँदामा हुनेछ सहमति, एजेन्डामा छैनन् सीमा विवाद र एयररुट
आज नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि 'वान अन वान' भेटवार्ता हुँदैछ।

आधा घन्टाका लागि छुट्याइएको सो भेटवार्ता १० वटा बुँदामा समेटिएको अनलाइनखबरलाई प्राप्त 'विकसित भारत र समुन्नत नेपालः साझेदारीको पुनःकल्पना' नामक दस्तावेजमा उल्लेख छ ।

भेटवार्ताका क्रममा मोदी र बालेनबीच सुरुमा दुई देशबीचको प्रेमपूर्ण मित्रता, नेपाली र भारतीय नागरिकबीचको प्रगाढ सम्बन्धसँगै मिल्दोजुल्दो सभ्यताबारे कुराकानी अगाडि बढ्ने छ। त्यसपछि केहीबेर रसुवा बाढीको विषयमा खोज तथा उद्धारमा सहयोगबारे विचार आदानप्रदान हुनेछ।

लगत्तै सन् १९५० को सन्धिमाथि आपसी सम्झदारीमा पुनर्विचार गर्नेबारे छलफल हुनेछ । त्यसपछि नै मोदी र बालेनले दुई देशका नवयुवाहरूका लागि 'जोइन्ट भिजन'का लागि के गर्न सकिन्छ भन्दै १० वटा बुँदा अर्थात् 'टेन पिलर्स' मा केही बेर कुरा गरेर औपचारिकता दिने छन् ।

जसमा केही विषयमा भारतले अग्रिम सहमति जनाइसकेको छ भने केहीमा विषयमा सहकार्य र पहलकदमी लिने भनिएको छ । तर, नेपालमा यसअघि बहुचर्चित बनेका सीमा विवाद र एयररुटका एजेन्डा भने हालसम्म समाविष्ट देखिँदैनन् ।

अन्तिम घडीमा एजेन्डा फेरबदल भएमा केही फरक निर्णय आउन सक्ने सरकारी स्रोतले बताएको छ । वार्ता क्रममा हवाई प्रवेश विन्दु अर्थात एयर रुटको विषयले प्रवेश भने पाइरहेको बुझिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय
अनलाइनखबरलाई प्राप्त उक्त दस्तावेजले सहमति कार्यान्वयनबारे पनि खुलाएको छ। जसमा दुवै देशका प्रधानमन्त्रीले एक उच्चस्तरीय निरीक्षक समूह बनाउने र त्यसको नेतृत्व नेपालका परराष्ट्र सचिव र भारतका राजदूतले गर्ने भनिएको छ। निरीक्षक समूहले प्रत्येक ६–६ महिनामा कार्यान्यवनको गतिबारे ब्रिफ गर्नुपर्ने उल्लेख छ ।

पहिलोः व्यापक आर्थिक र विकास साझेदार
जसमा व्यापार र लगानीबारे विगतमा भएका सम्झौताबारे पुनरावलोकन गरिने भनिएको छ । नेपाललाई थप हवाई रुट उपलब्ध गराउन छलफल गरिने र यसलाई प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याउन तयारी थाल्ने दस्तावेजमा उल्लेख छ ।

यही बुँदाअन्तर्गत दुई देशका प्रधानमन्त्रीबीच विशेष आर्थिक जोन निर्माणका लागि सहकार्य गरिने छ, जसको माध्यमबाट आपूर्ति र उत्पादन बढाउन सकियोस्। त्यस्तै, भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्ने भनिएको छ ।

भारत–नेपाल सीमावर्ती क्षेत्रमा निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्न सीमापार विशेष आर्थिक क्षेत्र र औद्योगिक पार्कहरूको स्थापना गर्ने विषयमा सहकार्य गरिने उल्लेख छ ।

यसबाट उत्पादनमूलक तथा अन्य प्रशोधन उद्योगहरूको आपूर्ति शृंख्लासँग सम्बन्ध विस्तार गरिने छ र सूचना प्रविधि पार्कहरूको विकासमा समेत सहकार्य गरिने लेखिएको छ ।

नेपालको प्राथमिकताका क्षेत्रहरूमा भारतीय लगानीलाई प्रोत्साहन गरिनुका साथै वित्तीय सहायता प्याकेज उपलब्ध गराउनेमा पनि भारत सहमत छ । प्रधानमन्त्री बालेन शाहलाई नयाँ दिल्लीमा स्वागत गर्दै भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद । 

दोस्रोः भौतिक र डिजिटल जडान
यो बुँदाअन्तर्गत दुवै देशका प्रधानमन्त्रीले एकअर्काको देशका नागरिकलाई जोड्न 'डाइरेक्ट एक्सप्रेस रेल' सेवाको सुविधा दिने बताइएको छ ।

जसमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रुट फाइनल भएको छ भने मोटरेबल पुलको सुविधा भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म निर्माण हुने बताइएको छ ।

भैरहवा–सुनौलीको एकीकृत चेकपोस्ट र नयाँ एकीकृत चेकपोस्टका रूपमा निर्माणधीन बनबासा र दोधारा चाँदनीलाई तिव्रता दिने भनिएको छ ।

त्यस्तै, जयनगर–बर्दिबास र जोगबनी–विराटनगरबीचको अन्तिम चरमको रेल्वे लाइनको काम ध्रुत गतिमा सकाउने भनिएको छ ।

रक्सौल–काठमाडौं रेल सेवा र पूर्वपश्चिम रेल सेवाका लागि अन्तिम सर्वेक्षणको काम अगाडि बढाइने भनिएको छ भने बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढलाई विशेष प्राथमिकता दिइने उल्लेख छ।

अन्य सडकको स्तरोन्नति र ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन गरिने भनिएको छ । गैरकानुनी क्रियाकलाप र आपराधिक गतिविधिलाई रोक्न दुवै देशले आ–आफ्ना तर्फबाट भूमिका खेल्ने बताइएको छ ।

तेस्रोः ऊर्जा, जलस्रोत र जलवायु उत्थानशिलता
जलवायु उत्थानशिलता यो बुँदाअन्तर्गत भारतले ऊर्जा, जलस्रोत र जलवायु उत्थानशिलता लगानी भित्र्याउन सहमत भएको बताइएको छ । जसमा भारतले नेपालको सहयोग र सहकार्य आवश्यक भएको भनेको छ ।

दुवै देशलाई फाइदा हुनेगरी पञ्चेश्वर र सप्तकोशी–सुनकोशी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने र बाढीको जोखिम कम गर्ने भनिएको छ । स्याङ्जा बुलेटिनका साथमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan