Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

काठमाडौँ, २९ कात्तिकः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।

    पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको हो । उहाँले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दार्शनिक र व्यावहारिक दृष्टिकोणबाट उजागर गरेको उल्लेख गर्नुभयो ।

    कृतिले विभिन्न विचारोत्तेजक भावना, ऐतिहासिक कालखण्डका व्यक्तित्वको विचार, विभिन्न सम्प्रदाय, आस्था तथा दर्शनलाई समेटिएको अध्यक्ष दाहालको भनाइ थियो । वैचारिक, दार्शनिक र भावनात्मक पक्षलाई समेटेर तयार पारिएको पुस्तकले व्यक्ति, समाज र राष्ट्र निर्माणमा कर्मको भूमिकालाई विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

    पुस्तकले कर्मलाई केवल व्यक्तिगत सफलता प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई सामाजिक दायित्व निर्वाह गर्ने आधारका रूपमा व्याख्या गरेको अध्यक्ष दाहालको भनाइ थियो । भौतिक तथा मानसिक श्रम विना जीवन र समाजको विकास सम्भव नहुने उहाँले बताउनुभयो ।

    अध्यक्ष दाहालले मानिस जन्मिएदेखि मृत्युसम्म कुनै न कुनै कर्ममा सङ्लग्न रहने भएकाले जीवनको प्रत्येक गतिविधि कर्मसँग जोडिएको उल्लेख गर्नुभयो । गतिशीलता विना विकास सम्भव नहुने र श्रम तथा निरन्तर प्रयासबाट मात्रै व्यक्ति, समाज र राष्ट्रमा सकारात्मक रूपान्तरण ल्याउन सकिने विषयलाई पुस्तकले जोड दिएको उहाँले बताउनुभयो ।

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समाजको हितका लागि कर्मलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले नकारात्मक सोच, घृणा र द्वेष फैलाउने मनस्थितिमा हाम्रो समाज अगाडि बढिरहेको अवस्थामा कर्मवादको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय समाजमा कर्मभन्दा कुरा ठूलो हुने, जिम्मेवारीभन्दा अधिकारको खोजी बढी गर्ने तथा इमानदार प्रयास र निरन्तर परिश्रमभन्दा छोटो बाटोबाट सफलता प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रामेश्वर फुँयालले कर्मवाद, नैतिकता, अनुशासन, परिश्रम र उत्तरदायित्वका विषयमा समाजमा गम्भीर बहस तथा चिन्तन आवश्यक भएको बताउनुभयो । व्यक्तिको व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन नआएसम्म समाजको समग्र रूपान्तरण सम्भव नहुने उहाँको भनाइ थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री एवं साहित्यकार सत्या अधिकारीले कुनै पनि कुरा आफैँमा खराब नभई गलत कर्म खराब भएकाले असल कर्म गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले पढे मात्र कृति सफल हुने भएकाले उक्त कृति सबैलाई पढ्न आग्रह गर्नुभयो ।

    नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटा, भुँडिपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली लगायतले पछिल्लो समय पठन संस्कृति हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan