Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोला: मनाइयो छठ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

भक्तपुर, २९ कात्तिक: आजको मिरमिरे साँझ भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ छ । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रतालुको भीड देखिन्छ । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका छन् । 

    तराईको झल्को दिने गरी दुलहीझै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीसहित आसपासका पोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी भएका छन् । तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्नेले कमलपोखरी क्षेत्र उत्सवमय बनेको छ ।

    भक्तपुरमा तराई-मधेसका समुदायकासँगै मिलेर भक्तपुरवासीले पनि संस्कृति र परम्पराअनुसार पूजाआराधनासहित छठ मनाएका छन् । आज साँझ छठ मनाएर रातभर जाग्राम बसेर भोलि बिहान व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरी चार दिनको छठ पर्व सम्पन्न गर्ने तयारी गरिएको छ ।

    भक्तपुरमा बस्दै आउनुभएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनुभएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत १२ वर्षदेखि यहाँ छठ मनाउनका लागि व्यवस्थापन गर्दै आएको बताउनुभयो । पर्वका लागि आज पोखरीलाई सजाएर झकिझकाउ बनाइएको छ भने साँझ व्रतालुले अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर छैठी देवीको पूजा गरेर पर्व मनाएका उहाँले जानकारी दिनुभयो ।

    यसैबीच बालकोट, कौशल्टारदेखि मध्यपुरथिमिमा बसोबास गर्दै आएका तराईवासीले भने भक्तपुरको बालकोट र ललितपुरको टीकाथलीको सिमानामा रहेको गोदावरी खोलामा छठ मनाएका छन् । यहाँ छठको व्यवस्थापन गर्दै आउनुभएका दशरथ ठाकुरले तीन दिनदेखि खोला सफाइ गरी आज किनारामा सजिसजाउ र झकिझकाउ बनाएर पर्व मनाइएको बताउनुभयो । उहाँका अनुसार यहाँ २०० भन्दा बढी परिवारले आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्नेछन् । 

    बालकोटमा तयारी पोसाकको व्यवसाय गर्दै आउनुभएकी सुभद्रा साहले विगत पाँच वर्षदेखि गोदावरी खोला किनारामा छठ पर्व मनाउँदै आएको जनाउँदै छठमा घर जान नपाउनेहरूका लागि यहाँको व्यवस्थापनले सजिलो बनाएको बताउनुभयो ।
    
    विशेष गरेर तराईवासीले हर्षाेल्लासका साथ मनाउने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्वीले सामूहिक रूपमा मिलेर सहयोग गरेर मनाइरहेका स्थानीय कमल श्रेष्ठले बताउनुभयो । समितिका संयोजक रौनियारले विभिन्न धर्म, जातका मानिसको सहयोग र साथ रहेको बताउनुभयो । विगतका वर्षमा १०० परिवार पनि नहुनेमा यस वर्ष २०० भन्दा बढी परिवारले यहाँ छठ मनाएका उहाँले जानकारी दिनुभयो ।

    पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर पूजा सम्पन्न गर्नु हो । छठ मनाउन पोखरी पुग्नुभएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाइएको बताउनुभयो । 

    पर्वको क्रममा पहिलो दिन कार्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने), दोस्रो कात्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन व्रतालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाइ प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यहरूलाई खुवाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan