Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
newsabhiyan

सुनसरी, २९ कात्तिकः आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो ।

छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका अवसरमा यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।

रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीनचार दिनमै रु तीन लाखभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताउनुभयो ।

उहाँले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आउनुभएको छ । स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी क्षेत्र तथा भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताउनुभयो। छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बनेको उहाँको भनाइ छ ।

तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उहाँले बताउनुभयो। आफैँले सामग्री बनाउन नसकिने भएकाले भारतबाट खरिद गरेर ल्याई झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने यस पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका छन् ।

सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला, सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ र सजावट गरिएको छ। पूजास्थलमा दीप, रङ्गोली तथा बत्तीको व्यवस्था मिलाइएको छ ।

सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan