Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारत–पाकिस्तान तनावबीच पाकिस्तानी मन्त्री नयाँ दिल्ली जाने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस/एएफपी)

पाकिस्तानले आगामी साता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन एक मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो ।     गत वर्ष दुई देशबीच चार दिनसम्म सैन्य द्वन्द्व भएयता हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

    पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, जलवायु परिवर्तन मन्त्री मुसादिक मलिकले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने ‘साङ्घाई सहयोग सङ्गठन (एससीओ) सभ्यता संवाद’मा पाकिस्तानको प्रतिनिधित्व गर्नुहुनेछ ।

    सन् २०२३ को मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएयता पाकिस्तानी सङ्घीय मन्त्रीको भारत भ्रमण हुन लागेको यो पहिलोपटक हो ।

    परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबीच लामो समयदेखि गहिरो अविश्वास रहँदै आएको छ । सन् १९४७ मा स्वतन्त्र भएयता यी दुई देशबीच पटक–पटक युद्ध तथा सैन्य तनाव उत्पन्न भएका छन् । यसको प्रमुख कारण मुस्लिम बहुल कश्मीर क्षेत्रमाथिको दुवै देशको दाबी हो ।

    सन् २०२५ मे महिनामा कश्मीरमा सशस्त्र बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण सैन्य द्वन्द्व भएको थियो । मारिने पर्यटकमध्ये अधिकांश हिन्दु थिए ।

    भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो । तर, पाकिस्तानले भने उक्त आरोपलाई कडा रूपमा अस्वीकार गरेको थियो ।

    घटनापछि दुवै देशले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका थिए । त्यसपछि तनाव बढ्दै जाँदा दुवै पक्षबीच क्षेप्यास्त्र, ड्रोन र तोपखानामार्फत आक्रमण तथा प्रत्याक्रमण भएको थियो । उक्त द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गएको थियो ।

    पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान सरकार एससीओको ढाँचाभित्र रहेर आपसी सम्मानका आधारमा विभिन्न सभ्यताबीच संवाद प्रवद्र्धन गर्न र जनस्तरको सम्पर्क विस्तार गर्न प्रतिबद्ध छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan