इजिप्टकी पत्रकार अत्तालाहलाई जेल सजायको जोखिम
इजिप्टको स्वतन्त्र सञ्चारमाध्यम ‘मादा मसर’ की प्रमुख पत्रकार लिना अत्तालाहले समाचार प्रकाशनसम्बन्धी मुद्दामा पुनः जेल सजायको सामना गर्नुपर्ने भएको छ । प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
बिनाअनुमति समाचार वेबसाइट सञ्चालन गरेको र गलत समाचार प्रकाशित गरेको आरोपमा सन् २०२४ मा उहाँलाई अनुपस्थितिमै एक वर्षको जेल सजाय सुनाइएको थियो । बुधबार फौजदारी अदालतमा उपस्थित हुन लाग्नुभएकी अत्तालाहले गत महिना मात्र फैसलाबारे जानकारी पाउनुभएको थियो । यसअघि छुट्टै मुद्दामा उहाँलाई ३० लाख इजिप्टियन पाउन्ड जरिवाना गरिएको थियो भने अदालतले मादा मसर बन्द गर्न आदेश दिएको थियो ।
राष्ट्रसङ्घले अत्तालाहमाथिको अभियोजनले निष्पक्ष सुनुवाइ र कानूनी प्रक्रियामाथि प्रश्न उठाएको जनाएको छ । इजिप्टमा स्वतन्त्र पत्रकारमाथि मुद्दा चलाउने र उत्पीडन गर्ने क्रम बढेको भन्दै उसले दमन रोक्न आग्रह गरेको छ ।
अत्तालाहका अनुसार मादा मसरले आठ वर्षदेखि सञ्चालन अनुमति माग्दै आए पनि सरकारी जवाफ पाएको छैन । उहाँले नियमनको विरोध नभई अनुमतिपत्रलाई सञ्चारमाध्यम नियन्त्रण र बहिष्करणको साधन बनाइएकोमा आपत्ति जनाउनुभएको छ ।
यसैबीच, एम्नेस्टी इन्टरनेसनलसहितका संस्थाले तथ्य जाँच गर्ने संस्था ‘मत्सदा’ का सबै पत्रकार पक्राउ परेपछि सञ्चारमाध्यममाथिको दमन बढेको बताएका छन् । राष्ट्रसङ्घका अनुसार छ जना पत्रकार पूर्वपरीक्षण हिरासतमा छन् र उनीहरूलाई यातना दिई दबाबमा झुटा स्वीकारोक्ति गराइएको आरोप छ ।
अमेरिकी सांसद, युरोपेली सङ्घ (इयु) तथा १३५ अधिकारवादी र सञ्चार सङ्गठनले दमनको आलोचना गर्दै मादा मसरमाथिको प्रतिबन्ध हटाउन र प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । पत्रकार संरक्षण समितिकी क्षेत्रीय निर्देशक सारा कुदाहले यस विषयलाई इजिप्टसँगको राजनीतिक वार्तामा उठाउन युरोपेली सङ्घ (इयु) लाई आग्रह गर्नुभएको छ ।


