Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘सडक कविता यात्राका सिर्जना पुस्तकमा सङ्कलित’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस)

सुनसरी, २१ कात्तिकः धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । आज आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शङ्कर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई सङ्कलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताउनुभयो ।

    उहाँले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र साहित्यिक चेतना अभिवृद्धिमा यस्ता प्रकाशनले योगदान पुर्‍याउने उल्लेख गर्नुभयो । वर्तमानमा सिर्जना भएका रचनाले भविष्यमा साहित्यिक सम्पदाको रूप लिन सक्ने भएकाले तिनको सङ्कलन र संरक्षण आवश्यक रहेको उहाँको भनाइ थियो ।

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा उहाँको साहित्यिक योगदानको चर्चा गर्दै भण्डारीले ‘मुनामदन’, ‘शाकुन्तल’ र ‘सुलोचना’ जस्ता कृतिमार्फत देवकोटाले नेपाली साहित्यको अभिव्यक्ति क्षमता विस्तार गर्न योगदान पुर्‍याउनुभएको बताउनुभयो । लक्ष्मी वाचनालयको स्थापनाको प्रसङ्ग उल्लेख गर्दै भण्डारीले महाकवि देवकोटाको निधनपछि महसुस भएको साहित्यिक रिक्ततालाई सिर्जनात्मक प्रयासमार्फत सम्बोधन गर्ने सामूहिक सोचबाट वाचनालय स्थापना भएको बताउनुभयो ।

    कृतिको समीक्षा गर्दै प्रा.डा. रमेश घिमिरेले समीक्षा औपचारिकता निर्वाह गर्ने प्रक्रिया मात्र नभई कृतिका सबल पक्ष र सुधार गर्नुपर्ने विषय पहिचान गर्ने माध्यम भएको बताउनुभयो । उहाँले विषयवस्तु, भाषा, प्रस्तुति र सन्देशको गहिरो विश्लेषण गरेर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थागत प्रकाशनमा पछिल्लो समय भाषाको शुद्धता र प्रयोगमा कमजोरी देखिने गरेको उल्लेख गर्दै घिमिरेले भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । कृतिमा भाषा र साहित्यलाई महत्त्व दिइनु यसको सबल पक्ष भएको उहाँको भनाइ थियो ।

    कृतिमा कति वटा लेख तथा रचना समेटिएका छन् भन्ने सङ्ख्या गणना गर्नु मात्र समीक्षा नभएको उहाँले स्पष्ट पार्नुभयो । रचनाको विषयवस्तु, गुणस्तर, प्रस्तुति, सबल पक्ष र सुधार गर्नुपर्ने विषयको विश्लेषण नै वास्तविक समीक्षा भएको उहाँको भनाइ थियो । 

    त्यस अवसरमा स्वर्गीय स्रष्टा राजेन्द्रबहादुर थापालाई मरणोपरान्त सम्मान गरिएको थियो । उहाँको तर्फबाट छोरा वीरेन्द्र थापाले सम्मान ग्रहण गर्नुभयो । अर्का स्रष्टा भरतमणि भट्टराई (सेर्नाली) लाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडा, लक्ष्मी वाचनालयका अध्यक्ष टेकबहादुर ढकाल र कृतिका प्रधान सम्पादक भण्डारीलगायतले स्रष्टाहरूलाई सम्मान प्रदान गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan