टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई
काठमाडौँ, १५ कात्तिकः ‘टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार २०८३’ साहित्यकार खेमनाथ दाहाललाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा भएको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उक्त पुरस्कार कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा उपाध्यायलाई प्रदान गरिएको थियो । नेपाली गीत सङ्गीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्ना मातापिताका नाममा उक्त पुरस्कार स्थापना गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।
साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई सिर्जनामार्फत अभिव्यक्त गर्दै नेपाली वाङ्मयको समृद्धिमा पु¥याएको योगदानको कदरस्वरूप दाहाललाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । दाहालका ‘श्रद्धाञ्जली’ कविता सङ्ग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कविता सङ्ग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कविता सङ्ग्रह, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिका लेखन सङ्ग्रहलगायत प्रकाशित छन् । उहाँका विभिन्न गीति एल्बमसमेत प्रसारित छन् ।

