बालेन सरकारको निरंकुशता र राज्यआतंकविरुद्ध कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरेर निराधार हल्ला चलाइरहेको आरोप लगाएकी छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
इनम प्रकरण र पछिल्ला राजनीतिक घटनाक्रमप्रति लक्षित गर्दै उनले भनिन्, ‘कांग्रेस सभापति गगन थापाले पत्रकारले समाचार लेखेकै भरमा बालेन सरकारले किन कलम बन्द गराएको हो भनेर सवाल उठाउनुभएको हो,’ संग्रौलाले भनिन्, ‘सुकुम्बासी, किसान, मजदुर र आम जनताले सुशासनको अनुभूति गर्न नसकेको विषयमा प्रश्न उठाउँदा कांग्रेस र सभापति थापामाथि इनम प्रकरणमा जोडेर बन्द कोठाबाट प्रायोजित हल्ला चलाइयो।’
सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर सभापति थापालाई बद्नाम गराउन खोजेको उनको आरोप छ। आफ्ना काला कर्तुत लुकाउनकै लागि बालेन सरकारले गगन थापालाई पक्रने हल्ला फैलाएको उनले बताइन्।
राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउने कुरै नहुने भन्दै महामन्त्री संग्रौलाले सरकारलाई षड्यन्त्र बन्द गर्न चेतावनी दिइन्। सरकारले न्यायालय, प्रहरी र सञ्चारजगतमाथि हस्तक्षेप बढाएको उल्लेख गर्दै उनले यसबाट देशमा लोकतन्त्र नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको बताइन्।
‘बालेन सरकारको राज्य आतंक र निरंकुशता यसरी नै बढ्दै गएमा कांग्रेस चुप लागेर बस्दैन र सञ्चारजगत् पनि चुप लागेर बस्नु हुँदैन,’ उनले थपिन्, ‘देश फेसबुकका स्टाटस, लाइक र कमेन्टले चल्दैन, विधि, कानुन र सुशासनले चल्छ।’
यसैबीच, कांग्रेस सभापति थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको हालैको भेटघाटबारे स्पष्ट पार्दै उनले उक्त भेट मधेस सरकारको विषयलाई लिएर मात्र भएको छ।


