बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
बैतडी, १९ कात्तिकः बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयो । गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार घाइते भएका हुन् ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


