Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | रासस

 म्याग्दी, १९ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा स्थापना गरिएको केन्द्रबाट आधार शिविर जाने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन, अभिलेख राख्ने, पदमार्ग तथा आधार शिविरबारे जानकारी र पदयात्राका क्रममा आवश्यक सहजीकरण गरिनेछ ।

    सूचना केन्द्रको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का निर्देशक रविन कडरियाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

    आधार शिविरको पदयात्रामा आउने पर्यटकको तथ्याङ्क व्यवस्थित गर्ने, पदमार्ग र आधार शिविरबारे जानकारी उपलब्ध गराउने तथा पदयात्राका क्रममा पालना गर्नुपर्ने नियम र पर्यटकीय सूचनाबारे जानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको एक्याप घान्द्रुकका संरक्षण अघिकृत भीम पौडेलले जानकारी दिनुभयो । 

    आन्तरिक तथा बाह्य पर्यटकलाई अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गबारे जानकारी दिनाका साथै त्यहाँ उपलब्ध सेवा तथा सुविधाबारे सूचना प्रवाह गर्न केन्द्रले सहयोग पुग्ने संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

    मौरिस हर्जोग पदमार्गका अभियन्तासमेत रहनुभएका गुरुङले सूचना केन्द्रबाट पर्यटकको विवरण सङ्कलन, सूचना प्रवाह र पदयात्राका क्रममा आइपर्ने समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो । केन्द्रमा तिहारसम्म एक र त्यसपछि दुई जना कर्मचारी राखेर नियमित सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर चार हजार ५० मिटर उचाइमा अवस्थित छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरसम्म पुग्ने मौरिस हर्जोग पदमार्ग प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।

    ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार शिविर पुग्न नारच्याङको बेँसी गाउँदेखि बाँस्कोट, दोभान, छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सडक यात्रा गर्नुपर्छ । हुमखोलाबाट करिब २१ किलोमिटर पैदल यात्रा गरी दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।

    पदमार्गमा पर्ने फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र वरिपरिका हिमशृङ्खलाको प्राकृतिक दृश्यले पदयात्रालाई थप आकर्षक बनाएको छ ।

    अन्नपूर्ण गाउँपालिकाले पदमार्ग तथा आधार शिविर क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण, पदमार्ग मर्मतसम्भार र झोलुङ्गे पुल निर्माण गरेपछि पदयात्रा सहज बनेको छ । गाउँपालिकासँग सम्झौता गरेर निजी क्षेत्रले पदमार्गका विभिन्न स्थानमा टी–शप, होटल तथा रेस्टुरेन्ट सञ्चालन गरेपछि पर्यटकका लागि खान र बस्न पनि सुविधा थपिएको छ ।

    पर्यटक सूचना केन्द्र स्थापनासँगै अन्नपूर्ण आधार शिविर आउने पर्यटकको अभिलेख व्यवस्थित हुनाका साथै पर्यटकीय सूचना र सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan