Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोसाइँकुण्ड र लाङटाङमा पर्यटकको चहलपहल बढ्दो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस)
newsabhiyan

रसुवा, १८ कात्तिकः भोटेकोशी बाढीपछि लामो समय सुनसानजस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।  

गत भदौ १० गतेको बाढीका कारण करिब दुई महिना ठप्पजस्तै रहेका सडक तथा पदमार्गको सुधारसँगै यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कन लागेको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीका कारण दुई महिनासम्म पर्यटकीय गतिविधि पूर्ण रूपमा प्रभावित भएकामा वेत्रावतीमा बेलिब्रिज निर्माण भई सडक सञ्जाल पुनः जोडिएपछि पर्यटकको आगमन विस्तारै वृद्धि हुन थालेको छ ।

पर्यटन तथा होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेका अनुसार अहिले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउनेजाने क्रम उत्साहजनक रूपमा सुरु भएको छ । बाढीले केही समय पदमार्ग र सडकमा अवरोध पु¥याए पनि हाल मार्ग सहज तुल्याइएकाले पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ लागिरहेका छन् ।

गोसाइँकुण्ड मार्गमा होटल सञ्चालन गरिरहनुभएका व्यवसायी पासाङ ध्युमीले बाटो खुलेपछि धार्मिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण मानिने गोसाइँकुण्ड पुग्ने पर्यटकको चहलपहलले व्यवसायीमा ठूलो आशा जगाएको प्रतिक्रिया दिनुभयो ।

त्यस क्षेत्रको अवलोकन भ्रमणमा पुगेका पर्यटकले अरूबाट सुनेको भन्दा आफैँ यहाँ  आइपुग्दा निकै रमाइलो र सुरक्षित लागेको प्रतिक्रिया दिएका छन् ।

लाङटाङ घुम्न जानुभएका नुवाकोट, नर्जाका शारदा खनाल र उहाँका छोराले बाटो  सहज रहेको बताउनुभयो । उहाँहरूले भन्नुभयो, “बाढीका कारण बाटो अप्ठ्यारो होला कि भन्ने डर थियो, तर बाटो सहजै रहेछ । हामीले ढुक्कसँग प्रकृतिसँग रमाएर यात्रा पूरा गर्यौँ ।”

लाङटाङका स्थानीय होटल व्यवसायी निमा लामाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरू विस्तारै आउन थालेकामा खुसी व्यक्त गर्नुभयो । लामो समयको अन्तरालपछि पर्यटक देखिन थालेकाले अबका दिनमा आफ्नो व्यवसाय पनि चलायमान हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।

शरद ऋतुको पर्यटकीय याम सुरु भएको तथा मौसममा आएको सुधारसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा पर्यटक भित्रिने क्रम बढेको छ । 

मानव बस्तीनजिकै रहेको हिमनदी र लाङटाङको क्याङजेन क्षेत्रको मनोरम दृश्यले त्यहाँ अवलोकन गर्न पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरिरहेको छ । त्यस क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यवसायीमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायी डिण्डुप तामाङको भनाइ छ ।

पछिल्लो समय त्यस क्षेत्रको पदयात्रा नवयुवा पुस्ताको आकर्षणको केन्द्र बनिरहेको छ ।  सङ्घका अनुसार हाल दैनिक रूपमा  आन्तरिक तथा बाह्य पर्यटक गोसाइँकुण्ड र लाङटाङ पुग्ने क्रम बढदो छ । क्यान्जिन क्षेत्रका होटल व्यवसायी ग्याल्बु तामाङका अनुसार केही समयको सुस्ताएको पदमार्ग सुरक्षित भएसँगै रसुवाको पर्यटन उद्योगले नयाँ गति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan