कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिकका लागि पेस
काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिकका लागि बुझाइएको छ।
हिजो निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तको उपस्थितिमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण आयोगसमक्ष पेस गर्नुभएको हो।
विवरण बुझाउने क्रममा महामन्त्री पौडेलले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरूसमेत आयोगमा बुझाउनुभएको छ।
आयोगमा विवरण पेस भएसँगै १५औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढ्नेछ।

