Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार | (रासस)

पाल्पा, १५ कात्तिकः राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उहाँको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी । घरमै आमाबुवासँग बसेर राहदानी लिन एक–दुई दिनभित्रै जिल्ला प्रशासन कार्यालय जाने सल्लाह भइरहेको थियो । तर सदरमुकाम पुग्नुपर्ने झन्झट नहुँदै राहदानी घरकै दैलोमा आइपुगेपछि बाह्रघरे दङ्ग पर्नुभयो । 

    “पासपोर्ट लिन जिल्ला प्रशासन जाने सल्लाह हुँदै थियो”, उहाँले भन्नुभयो, “हुलाकका कर्मचारीले घरमै ल्याइदिनुभयो ।” राहदानी लिन कार्यालयसम्म पुग्नै नपरी घरमै प्राप्त गर्न सकिन्छ भन्ने आफूले कल्पनासमेत नगरेको बाह्रघरेको भनाइ छ । सरकारी सेवा घरदैलोमै आइपुग्दा उहाँका लागि यो राहदानी प्राप्त गर्ने सहज माध्यम मात्र बनेन, राज्यबाट सेवा लिन नागरिकले भोग्दै आएको झन्झट कम भएको अनुभूति पनि बन्यो ।

    माथागढी गाउँपालिकाका– ६ का लेखबहादुर गाहाको अनुभव पनि उस्तै छ । घरमै राहदानी पाएपछि उहाँ फुरुङ्ग हुनुहुन्छ । घरमै राहदानी प्राप्त गर्दा समय र खर्च दुवै बचत भएको गाहाको भनाइ छ । 

    “पहिले राहदानी लिन तानसेनमै पुग्नुपर्ने चिन्ता थियो । अहिले घरमै आएपछि निकै सजिलो भयो”, गाहाले भन्नुभयो, “सरकारी सेवा यसरी घरदैलोमै पुग्दा हामीजस्ता टाढाका नागरिकलाई ठूलो राहत भएको छ ।” 

    राहदानी बनाउन जिल्ला सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताका कारण ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले थप समय र पैसा खर्च गर्नुपर्ने अवस्था थियो। घरमै राहदानी वितरण हुन थालेपछि उक्त समस्या केही हदसम्म कम भएको उहाँले सुनाउनुभयो । 

    सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवाले बाह्रघरे र गाहा जस्ता धेरैलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घरघरमा पु¥याउन थालेको छ । जिल्ला प्रशासन कार्यालय  र जिल्ला हुलाक कार्यालयबिच गत वैशाखमा भएको सम्झौतापछि राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गर्न थालिएको  हुुलाक कार्यालयका प्रमुख अर्जुन चौधरीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयबाट घरदैलोमा नै राहदानी बुझ्ने दर्ता फाराम भरेका सेवाग्राहीको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित सेवाग्राहीलाई डेलिभरी कार्यको सुरुआत गरेका छौँ ।” यस सेवाबाट जिल्ला सदरमुकामबाट टाढा रहेका सेवाग्राहीले राहदानी लिनका लागि सदरमुकामसम्म आउनुपर्ने झन्झटबाट मुक्ति मिलेको र समय तथा स्रोतको बचत पनि भएको उहाँको भनाइ छ ।

    हालसम्म आयात भएका राहदानीमध्ये पाँच वटा सेवाग्राहीको घरमै पुगेर वितरण गरिसकिएको हुलाक कार्यालयका सूचना अधिकारी टङ्क भण्डारीले बताउनुभयो । उहाँका अनुसार माथागढीका दुई जना, रम्भा, रैनादेवी छहरा र तानसेनका एक÷एक जना सेवाग्राहीलाई घरमै गएर राहदानी वितरण गरिएको हो । घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । राहदानी बनाउने प्रक्रिया पूरा गरेपछि त्यसलाई लिन जिल्ला सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यता लामो समयदेखि सेवाग्राहीले भोग्दै आएका थिए । 

    विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि एउटा राहदानी लिनकै लागि सदरमुकामसम्म पुग्नु समय र खर्च दुवैका हिसाबले बोझिलो बन्ने गरेको थियो । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत अघि बढाएको हुलाकमार्फत राहदानी घरमै पु¥याउने सेवाले नागरिकको यही बाध्यता कम गर्न थालेको छ । सेवा विस्तार र प्रभावकारी कार्यान्वयन हुनसकेमा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि यो व्यवस्था उपयोगी बन्ने देखिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan