साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत सेयर रहने
साउदी तेल कम्पनी अरामकोले आइतबार राज्यको लगानीमा चलेको एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको बताएको छ ।
बढ्दो माग पूरा गर्न कम्पनीलाई विस्तार गर्न नगद र सम्पत्ति दुवै दिइएको हो ।
साउदीको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) ले बाँकी ५१ प्रतिशत सेयर राख्ने छ । दुवै पक्षले संयुक्त वक्तव्य जारी गरी सेयर विस्तारबारे पुष्टि गरेका छन् ।
तेलमा निर्भर साउदी अर्थतन्त्रको मुख्य आधार अरामकोले सन् २०२५ मेमा सुरु भएको हुमेनमा कम्तीमा एक वर्षदेखि उल्लेखनीय सेयर लिने योजना बनाइरहेको थियो ।
“यो कारोबारले हुमेनको वृद्धिलाई थप गति दिने छ र विश्वव्यापी रूपमा यसको पूर्ण एआई क्षमता अगाडि बढाउने छ । पीआईएफ र अरामकोले राज्यद्वारा लगानी गरिएको एआई कम्पनीको सम्पत्ति, क्षमता र प्रतिभामा योगदान गर्ने छन्,” वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा भनिएको छ, “अरामकोको पूर्ण स्वामित्वको सहायक कम्पनीमार्फत लिइएको यो सेयरले ‘एआईको बढ्दो क्षेत्रीय र विश्वव्यापी माग पूरा गर्न हुमेनको तीव्र विस्तारलाई सहयोग गर्नेछ ।”
हुमेनले सन् २०३० सम्म तीन गिगावाट एआई डाटा सेन्टर क्षमता राख्ने योजना बनाएको छ । “यसले पूर्वाधार र ‘क्लाउड प्लेटफर्म’ मा पनि काम गरिरहेको छ र अरबी भाषाको एलएलएम विकास गरेको छ,” वक्तव्यमा उल्लेख छ ।
विश्वको सबैभन्दा ठूलो बजार पूँजीकरण भएका कम्पनीमध्ये एक अरामकोले यस वर्ष हुमेनमा करिब ९.९ अर्ब साउदी रियल (२.६ अर्ब अमेरिकी डलर) लगानी गर्नेछ । साथै एआई, कम्प्युटर नेटवर्क र डिजिटल सम्पत्ति पनि दिने छ । अरामकोका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अमिन एच. नासेरले एआईले सन् २०२३ देखि तेल कम्पनीलाई ११.३ अर्ब डलर बराबरको प्रविधि–सम्बन्धी मूल्य सङ्कलन गर्न मद्दत गरेको बताउनुभएको छ ।

