Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २ आइतबार | रासस

काभ्रेपलाञ्चोक, १ कात्तिकः यहाँका माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट तृतीयाका दिन यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दै आएका हुन् । 

    अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर, माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तको नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । अल्पसङ्ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरापर्व’ भनिने गरिएको हो । 

    मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षको बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ । उहाँ भन्नुहुन्छ, “यस परम्परालाई निरन्तरता दिन स्थानीय युवाले अग्रसरता लिँदै आएका छन् ।” विशेषगरी आँपचौरमा माझी समुदायको बाक्लो बस्ती रहेको छ । माझी समुदाय मिलेर बस्तीभरि वर्षमा जति जनाको निधन हुन्छ, उनीहरूको नाममा एकैसाथ सामूहिक रूपमा पितरा पर्व मनाइने गरिएको माझीको भनाइ छ । 

    किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक माझीलाई आफूहरूलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव दम्पती खुसी भई ‘तिमीहरू मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौ’ भनी वरदान दिएका थिए । त्यसैबेलादेखि यो पितरा पर्वको संस्कृति सुरुआत भएको सुन्दै आएको स्थानीय माझीहरू बताउँछन् । 

    यस पर्वको चलन पनि अनौठो खालको छ । यस पर्व माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट ‘पितरा’ निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नभएको स्थानीय राजकुमार माझीले बताउनुहुन्छ । उहाँका अनुसार पर्वको परम्पराअनुसार तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ । 

    नेवार समुदायको गाईजात्रा परम्पराझैँ झल्कने भए पनि पितरापर्व फरक संस्कृति–रीति भएको बताइन्छ । स्थानीय ध्रुव माझीका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पु¥याई पितृहरूलाई निमन्त्रणा गर्न उनीहरूलाई विभिन्न बहानामा चढेर आऊन् भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायतका सवारी साधनहरूको चित्र कोरिन्छ । मृतात्मा तीनै सवारीसाधनहरूमा चढेर आउँछन् भन्ने जनविश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृति पनि कोरिएको हुन्छ । पर्व मनाउने क्रममा कुनै एक व्यक्तिले ‘मरेको अभिनय’ पनि गर्ने गर्छन् । 

    पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नु पर्ने पम्परा रहँदै आएको छ । पितरा निकाल्ने दिन ‘मूल भोटे’ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्दछन् । यस कार्यका लागि माझीकै दुई बालिकालाई पुरोहितका रूपमा पुजिन्छ । उनीहरूलाई अन्य समुदायका व्यक्तिले छुन नहुने र यदि कसैले छोएमा तिनीहरूको मृत्युसम्म हुने मान्यता पनि रहिआएको छ । 

    पर्वका क्रममा मूलभोटेले दुई ‘गुरुङ’को छनोट गरी उनीहरूकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरू गाउने प्रचलन रहेको छ । बाटो मर्मत र सफा गर्दै पुनःघरमा फर्केर मृतकको के इच्छा छ त्यो ‘बकाउन’ विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारकै सल्लाहअनुसार परिवारले यदी चाहेमा मात्र आत्मालाई बोलाइने गरिएको माझीले बताउनुहुन्छ । 

    पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि गरिन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसारको तीन दिनको पितरा पर्वको समापन हुन्छ । यस पर्व मनाएपछि मरेका आफन्तको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकालाई कुनै किसिमको ‘विघ्नबाधा’ नआउने मान्यता रहेको छ । कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने पनि माझीहरू खुसीसाथ दसैँ मनाउने गरेको अनुभव सुनाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan